नेपालगन्ज ।
बाँके नेपालगन्जस्थित भेरी अस्पतालमा थप ४ जना कोरोना संक्रमितको उपचारकै क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाका ३ र दाङका एक जना रहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
राजापुर नगरपालिका वडा नम्बर– ८ बर्दियाका ३५ वर्षका पुरुषको संक्रमणबाट मृत्यु भएको हो । भेरी अस्पतालमा उपचारका क्रममा उनको बिहीबार राति ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । बर्दियामा यही असोज ४ गते उनको पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । त्यसपछि उनी भोलिपल्ट भेरी अस्पतालमा आएर भर्ना भएका थिए ।
यस्तै राजापुर नगरपालिका वडा नम्बर ४ बर्दियाकी ५२ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो । बर्दियामा यही असोज ८ गते पीसीआर परीक्षण गराउँदा उनलाई कोरोना पुष्टि भयो । त्यसपछि असोज १० गते उनी भेरी अस्पतालमा भर्ना भएकी थिइन् । स्वास्थ्यमा कुनै सुधार नआएपछि बिहीबार बेलुकी ७ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
यसैगरी बारबर्दिया नगरपालिका वडा नम्बर– ११ बर्दियाकी ४२ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यही असोज १९ गते उनलाई भेरी अस्पतालमा कोरोना पुष्टि भएपछि सोही दिन भर्ना भएकी थिइन् । अस्पताल भर्ना भएको दुई दिनमै उनको मृत्यु भएको हो । अस्पतालका अनुसार उनको बिहीबार दिउँसो ३ः३० बजेतिर मृत्यु भएको थियो ।
त्यस्तै दंगिशरण गाउँपालिका वडा नम्बर– १ दाङकी ३७ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । भेरी अस्पतालमा यही असोज १३ गते पीसीआर परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएपछि सोही दिन भर्ना भएकी थिइन् । स्वास्थ्यमा कुनै सुधार नआएपछि बिहीबार दिउँसो ३ बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
कोरोना दोस्रो लहर कम भएपछि पहिलोपटक भेरीमा पाँच घण्टाभित्र चार संक्रमितको उपचारकै क्रममा मृत्यु भएको बताइएको छ ।
हालसम्म कोरोना संक्रमणबाट बाँकेका ३ सय ३५ र बाहिरी जिल्लाबाट आएका ४ सय २३ जनाको मृत्यु भइसकेको फोकल पर्सन ओलीले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्