दीपज्योतिमा वर्षौंदेखि छात्रामाथि यौन दुव्र्यवहारः छात्राको आत्महत्यापछि प्रिन्सिपल पक्राउ



कोहलपुर ।

शिक्षकलाई नेपाली समाजमा ईश्वरको रुपमा पुजिन्छ । तर, कहिलेकाँही यस्तै ईश्वररुपी शिक्षकबाट भने भक्षक भइदिँदा भने गुरु–शिष्यको सम्बन्धमा नै शंका उत्पन्न हुने गर्दछन् । बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा रहेको दीपज्योति स्कुलका प्रिन्सिपल नै छात्रामाथि यौन दुव्र्यवहार र आत्महत्या दुरुत्साहनमा पक्राउ परेका छन् ।

जबरजस्ती करणी र आत्महत्या दुरुत्साहन कसूरमा किटानी जाहेरीपछि विद्यालयका प्रिन्सिपल ४० वर्षीय दमन पाण्डे पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रवीन्द्र खनालका अनुसार आफन्तको जाहेरीपछि पाण्डेलाई पक्राउ गरिएको हो ।

उनीमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ । सोही स्कुलबाट एसईई परीक्षा दिएकी १७ वर्षीया एलिसा शाह असोज पहिलो साता गाभरस्थित घरमा सलको पासोमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएकी थिइन् । घटनाको करिब दुई सातापछि मात्रै आफन्तले जाहेरी दिएका थिए । यसमा प्रहरी आफैंले नै किरियाकर्म गरेर मात्रै जाहेरी दिन भनेको आफन्तले बताएका छन् ।

एलिसाले आत्महत्या गर्नुअघि सुसाइड नोट पनि लेखेकी थिइन् । प्रहरीले उक्त सुसाइड नोटसमेत बरामद गरेको छ । उक्त नोटमा उनले ‘हजुरको नाक काट्नुभन्दा बरु म आफैं मर्छु’ भनिएको छ । साथै अन्तिममा एलिसाले आफूलाई धेरै डर लागिरहेको पनि लेखेकी छिन् । सुसाइड नोटअनुसार परिवारले स्वेच्छाले नभइ कसैको दवावमा गरेको शंका मानेर एलिसाको फेसबुक खोलेका थिए ।

पक्राउ परेका विद्यालयका प्रिन्सिपल ४० वर्षीय दमन पाण्डे

म्यासेन्जर खोलेर हेर्दा लामो समयदेखि प्रिन्सिपल पाण्डेसँग अस्वभाविक कुराकानी भएको पाइएको थियो । रामजानकी उच्च मावि कोहलपुरमा एलिसा कक्षा ११ मा अध्ययनरत थिइन् । प्रिन्सिपल पाण्डेले रामजानकीमा पनि अध्यापन गराउने गरेको पाइएको छ ।

प्रहरीले पनि एलिसाको मोबाइलमा अश्लिल म्यासेजहरु भेटाएको छ । आफन्तका अनुसार म्यासेन्जरमा पाण्डेले एलिसालाई निःशुल्क स्कुल ड्रेस किनिदिने, पुस्तक उपलब्ध गराउने, रिचार्ज हालिदिने, ल्यापटप किनिदिने लगायतका आश्वासन दिएको पाइएको छ ।

विभिन्न प्रलोभन दिएर लामो समयदेखि यौन शोषण गर्दै आएको पीडित परिवारको आरोप छ । पाण्डेले एलिसालाई कोठामा समेत एक्लै राख्ने, अरुसँग जान नदिने र अस्वभाविक व्यवहार गर्ने गरेको आफन्तले जाहेरीमा उल्लेख गरेका छन् । मुलुकी अपराध संहिताले नाबालिकसँग सहमतिमै शारीरिक सम्बन्ध भएपनि त्यसलाई जबरजस्ती करणी मानेको छ ।

तर पीडितले आत्महत्या गरिसकेको अवस्थामा जबरजस्ती करणीको कसूरलाई स्थापित गर्न गाह्रो हुने कानूनका जानकारहरु बताउँछन् । पहिलेभन्दा फरक प्रकृतिको घटना भएकाले प्रहरीले चाहिँ सरकारी वकिलसँग समन्वय गरिरहेको छ । एक वकिलका अनुसार बालिका जीवित भएको भए उनको बयान र शारीरिक परीक्षणबाट बलात्कार भए-नभएको पुष्टि गर्न सकिन्थ्यो ।’

शिक्षक पाण्डेलाई शुक्रबार पक्राउ गर्न प्रहरी जाँदा स्थानीयले जुत्ताको माला लगाइदिने प्रयास गरेका थिए । त्यसक्रममा आक्रोशित स्थानीय र प्रहरीबीच घम्साघम्सीसमेत भएको थियो । प्रदर्शनमा संलग्नहरुले सत्यतथ्य छानबिन गरेर दोषीमाथि कारबाही गर्न माग गरेका छन् । डीएसपी खनालले अनुसन्धानमा प्रहरीले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा प्रिन्सिपल पाण्डेले छात्रा शाहलाई वर्षौँदेखि दुव्र्यवहार गर्र्दै आएको देखिन्छ । प्रहरीले एलिसाको मोबाइल फरेन्सिक डिपार्टमेन्टमा पठाइसकेको डिएसपी खनालले जानकारी दिए । शुक्रबार कोहलपुर प्रहरीले प्रिन्सिपल पाण्डेको मोबाइल पनि बरामद गरेर अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

प्रकाशित मिति : २०७८ असोज २३ गते शनिबार