चिकित्सककै अगाडि कर्मचारीले बिरामीका आफन्त कुटे



नेपालगन्ज ।

नेपालगन्जमा एक मेडिकल क्लिनिकमा बिरामीका आफन्तमाथि कुटपिट भएको छ । त्यो पनि बिरामी हेर्ने चिकित्सककै अगाडि । तर, चिकित्सक भने मौन रहे ।

विपी चोकस्थित यश क्लिनिक-प्रकाश मेडिकल)हलमा कन्सल्टेन्ट फिजिसियन डा. प्रकाश नागकै अगाडि उनका कर्मचारीले बिरामीका आफन्तलाई कुटपिट गरेका हुन् ।

असोज १९ गते बैजनाथ गाउँपालिका–६ कि दिलसरा बिसीलाई उपचारका लागि ल्याइएको थियो । ज्वरो धेरै बिग्रिसकेकाले एकदुई दिन उपचार गरी हेर्ने र निको नभएपछि काठमाडौं रेफर गर्ने नागले बताएका थिए । तर, बिहीबार बिहान सम्झनाका भाई रवी बिसीले आफ्नी दिदीको अवस्थाबारे मेडिकल प्रशासनसँग सोधे । त्यसपछि कर्मचारीले चिकित्सकसँगै भेटाइदिने बताए ।

तर, भनेको समयमा चिकित्सकलाई भेटाइदिएनन् । आफ्नी दिदीको अवस्थाबारे जानकारी नदिएपछि रवीले गुनासो गरे । सोही गुनासोपछि मेडिकलका कर्मचारीले रवीमाथि हातपात गरे । त्यतिबेलासम्म चिकित्सक नाग त्यहाँ पुगिसकेका थिए ।

तर, कर्मचारीले हातपात गरिरहँदा पनि चिकित्सक नाग केही नबोलेको पीडितले बताएका छन् । चिकित्सक नागले नै कुटपिटका लागि उक्साएको समेत पीडितको आरोप छ ।

रविमाथि हातपात भएपछि साथमा रहेका साथीभाई र अस्पतालका कर्मचारीबीच दोहोरो झडप भयो । झडपमा रविको खुट्टामा चोट लगोको छ । नेपालगन्ज नर्सिङ होममा उनको उपचार भइरहेको छ । खुट्टामा चारवटा टाँका लाइएको छ । रविमाथि हातपात गर्ने कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । पीडितले मेडिकल र कर्मचारीविरुद्ध उजुरी दिएका छन् ।

 

  • No tags available
प्रकाशित मिति : २०७८ असोज २२ गते शुक्रबार