सुर्खेत ।
सुर्खेत प्रहरीले बहुमूल्य काइनेटिक ढुंगाको मूल्य बार्गेनिक गरिरहेको अवस्थामा दुई जनालाई नियन्त्रणमा लिएको छ । बुधबार दिउँसो १ बजेतिर वीरेन्द्रनगर नगरपालिका–१२ नारायणटोलस्थित जयधनी बस्नेतको घरबाट कारोबारका लागि मोलमोलाई हुँदै गर्दा पक्राउ परेको हो ।
अवैध वस्तुको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी निरीक्षक कनबहादुर शाहीको कमाण्डमा खटिएको टोलीले बस्नेतसहित जाजरकोट जुनीचाँदेका ३२ वर्षीय रामकृष्ण घर्तीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घर्ती हाल वीरेन्द्रनगर नगरपालिका–१२ स्थित नेवारेमा कोठा भाडामा बस्दै आएका थिए ।
घरको कोलियामा बस्नेत र घर्तीबीच उक्त ढुंगाको मूल्यबारे कुराकानी भइरहेको थियो । त्यति नै बेला प्रहरी उक्त स्थानमा पुग्यो । शंका लागेपछि बस्नेत र घर्तीलाई प्रहरीले नियन्त्रणमा लियो ।
उनीहरुलाई नियन्त्रणमा लिएपछि बस्नेतको कोठा तलासी गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तलासीका क्रममा काठको दराजमा राखिएको तीनवटा प्लास्टिकको कट्टाभित्र लुकाइएको काइनेटिक ढुंगा फेला पारेको थियो । बिना अनुमति त्यसरी बिक्री वितरण हुन लागेको काइनेटिक ढुंगाको तौल १९ किलो ४० ग्राम रहेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उक्त परिमाणको ढुंगाको बजारमूल्य हाल दुई लाख रुपैयाँ रहेको छ । अहिले काइनेटिक ढुंगा निकासीमा प्रतिबन्ध लगाइएको छ ।
तर, लुकीछिपी यसको कारोबार हुँदै आएको छ । प्रहरीले उक्त ढुंगासहित पक्राउ परेका बस्नेत र घर्तीलाई आवश्यक कारबाहीका लागि खानी तथा भू–गर्व विभाग शाखा कार्यालय वीरेन्द्रनगरमा बुझाएको छ ।









प्रतिक्रिया दिनुहोस्