दसैंको मुखमा बाँकेको सुरक्षा कमजोरः नेपालगन्जमा युवकको शव भेटियो, हत्या आशंका



नेपालगन्ज ।

दसैं, तिहार लगायतका चाडपर्व नजिकिदैं जाँदा बाँकेको सुरक्षा भने कमजोर बन्दै जान थालेको छ । बाँके प्रहरीले दसैं तिहार लगायतका चाडपर्वलाई ध्यानमा राखेर विशेष सुरक्षा योजना लागू गरिरहेकै बेला मंगलबार बिहान एक युवकको शव फेला परेको हो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ धम्बोझी स्थित गायत्री मन्दिर छेउ पलटिङ्ग गरेको जमिनमा युवकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अन्दाजी १९ वर्षे युवाको शव फेला परेको हो ।

बर्दिया राजापुर स्थायी निवासी १९ वर्षिय रोहित थारुको शव भेटिएको बाँके प्रहरी प्रवक्ता एवम डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए । मृतक रोहित आफ्नो दिदीका साथ लामो समयदेखि वडा नम्बर– १ धम्बोझीमा बस्दै आएको बताइएको छ ।

मृतक रोहीतकी दिदि सीमा थारुले भाईको हत्या भएको बताएकी छन् । ‘सोमबार राती सुतीरहेका भाई रोहीतलाई फोन गरेर बोलाइएको थियो । विहान शव भेटियो ।’ सीमाले अगाडी थपिन् ‘यो सुनियोजित घटना हो । भाइलाई मारे । हत्यारालाई कारबाही गरियोस् ।’

यता डिएसपी न्यौपानेले भने प्रारम्भिक अनुसन्धानमा हत्या गरेर फालेको जस्तो नदेखिएको बताएका छन् । ‘हाम्रो टोलीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धानमा हत्या गरेर फालेको जस्तो देखिँदैन’, प्रवक्ता न्यौपानेले भने ।

दसैंको मुखमा सुरक्षाकर्मीको बाक्लो उपस्थिती नै भएको स्थानमा कोठाबाट राति निस्किएका युवकको शव फेला परेपछि नेपालगन्जबासी भने आंतकित बनेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज १९ गते मंगलबार