करिब डेढ वर्षपछि नेपाल भारत सीमा नाका जमुनाहा आइतबारदेखि पूर्ण रुपमा सञ्चालनमा आएको छ । कोरोना भाईरस (कोभिड–१९) महामारीका कारण जमुनाहा नाका २०७७ चैत्र पहिलो सातादेखि बन्द भएको थियो ।
बीचमा आंशिक रुपमा नाका खुलेपछि पूर्ण रुपमा दुबै देशले नाका सञ्चालनमा ल्याएका थिएनन् । आइतबार दिउँसोबाट नै डेढ वर्ष अघिकै अवस्थामा जमुनाहा नाका सञ्चानलमा आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । नाका पूर्ण रुपमा सञ्चालन भएसँगै नेपाली निजी सवारी सीमावर्ती भारतीय बजार रुपैडिहा जान थालेका छन् ।
भारतीय निजी सवारी साधन समेत नेपालमा आउन सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुसुदन न्यौपानेले जानकारी दिए ।
सीमा खोल्ने विषयमा मन्त्रिपरिषद बैठकले दुई हप्ताअघि निर्णय गरेको भएपनि कार्यान्वयनमा आएको थिएन । दुवै देशका अधिकारीबीच आइतबार बिहान भएको छलफलपछि जमुनाहा नाका पूर्ण रुपमा सञ्चालनमा आएको थियो । यसअघि सीमा नाकामा पैदल तथा एम्बुलेन्स तथा मालबाहक सवारी साधनलाई मात्र आवत जावत गर्न दिने गरिएको थियो ।
नाका पूर्ण रुपले नखुल्दा निजी सवारी साधन भारतबाट नेपाल आउन र नेपालबाट भारत लैजान रोक लगाइएको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आइतबारबाट नेपाल भारत सीमानाकामा निजी सवारी साधनलाई पनि आवत जावत खुल्ला गरिएको जानकारी दिए । उनले सिमा खुलेपनि भारतबाट आउने ब्यक्तिले नेपाल सरकारले जारी गरेको ‘यात्रा ब्यवस्थित सम्बन्धी आदेश’ लाई पालना गर्नुपर्ने बताए ।
गेलालका अनुसार भारतबाट आउने ब्यक्तिले ७२ घण्टाभित्रमा कोभिड परिक्षण गरिएको रिपोर्टका साथै अनलाईन फाराम ईन्ट्री गरेर प्रतिलिपी पेश गर्नुपर्ने हुन्छ । इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख (सई) मिनबहादुर विष्टले नाकामा अहिले नेपालबाट भारतमा र भारतबाट नेपालमा निजी सवारी साधन छिटपुट रुपमा चलिरहेको जानकारी दिए । उनले भने, ‘सिमा नाकाबाट निजी सवारी साधन पनि आवत जावत गर्न पाएका छन्, अब कसैलाई पनि रोकावट छैन,’ उनले भने ।
सीमावर्ती शहर रुपैडिहा किनमेल गर्न जाने नेपालीहरुले निजी सवारी साधन रुपैडिहा बजारमा नै लिन पाउँनेछन् । भारतीय निजी सवारी साधन समेत आवश्यक प्रक्रिया पु¥याएर नेपाल आउन पाउने नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ । डेढ वर्षपछि पूर्ण रुपमा जमुनाहा नाका सञ्चालनमा आएपछि सीमावर्ती बजारमा किनमेल गर्न जाने नेपालीहरुको भिडभाड लागेको थियो ।










प्रतिक्रिया दिनुहोस्