बिचौलियाको मारमा किसानका खसी बोका



शुभाकर विश्वकर्मा । कोहलपुर ।

देशभर दसैं तिहारको चटारो सुरु भएको छ । यो बेलामा व्यापक रुपमा जिउँदो खसी बोकाको खरिद्, बिक्री हुने गर्दछ । दसैं भनेकै खसी बोकाहरूको बली दिने पर्व हो ।

यति मात्र नभएर दसैं एक पारिवारिक जमघटको पर्व पनि हो । जहाँ टाढा टाढाबाट आफन्तहरु एक अर्कामा दुःख सुख साँटासाँट गर्न भेला हुन्छन् । सोही कारण पनि दसैंमा मासुजन्य परिकारको खपत बढी हुन्छ । यसवर्ष पनि दसैं आउन करिब डेढ सातामात्रै बाँकी रहँदा बजारमा खसीबोका आउन थालिसकेका छन् ।

यही मौकामा किसानले पनि वर्षभरीको खर्च जोहो गर्ने बाटो पाउँछन् । दसैंकै लागि भनेर वर्षभरी खसीबोका जोगाएर राखेका
हुन्छन् । बाँके जिल्लामासमेत आन्तरिक तथा बाह्य क्षेत्रबाट खसी बोकाको आयात, निर्यात र खरिद्–बिक्री सुरु हुन थालेको छ । चाडपर्व नजिकिदै जाँदा खसी बोकाको माग सुरु भएको छ । दुःख गरेर खसी बोका उत्पादन गर्ने किसानका दुःख छुट्टै छन् । एक त बजारीकरणको समस्या छ । अर्कातिर उचित मूल्य पाउने हुन की नपाउने हुन् भन्ने पिरलो सधैं हुन्छ, किसानहरूलाई ।

त्यसमाथि आफूखुसी मूल्य निर्धारण गरी सस्तोमा खसी बोकाको खरिद्–बिक्री गर्ने पटके व्यापारी÷बिलौलियाका कारण किसानले सास्ती खेप्ने गरेका छन् । शुक्रबार राप्तीसोनारी गाउँपालिकाको केन्द्र अगैयामा सम्पन्न एक कार्यक्रममा सहभागी खसी बोकाको कारोबार गर्ने सहकारी र महिला किसानले बिचौलियाका कारण उचित मूल्य नपाउने, बजारीकरणको समस्या र बिचौलियाको मारमा आफूहरू रहेको दुःखेसो पोखे । आफूले हुर्काएका खसी बोकाले राम्रो मूल्य नपाएको किसानहरूले गुनासो गरेका थिए ।

सहकारीमार्फत अनुदानमा उत्पादन गरेका खसी बोका हुर्काएर बिक्री गर्दा बिचौलियाको मार खेप्नु परेको उनीहरूको गुनासो थियो । सहकारीमार्फत आर्थिक समृद्धिको नारासहित बाँकेमा सहकारीमार्फत जिउँदो खसी बजारीकरण अभियान सञ्चालित छ । उक्त अभियानसँग जोडिएका सहकारीका प्रतिनिधि र किसानहरूले खसी बोका बजारीकरणमा समस्या भएको बताएका थिए ।

उनीहरूका अनुसार परियोजनाअन्तर्गत बाँके जिल्लामा रहेका सहकारीहरूले उत्पादन गरेका खसी बोकाहरूले बिचौलियाका कारण उचित मूल्य पाउन सकेका छैनन् ।

बाँकेमा पशु वस्तुको मूल्य श्रृंखलामा आधारित साना किसानहरूको संस्था सवलीकरण परियोजना अन्तर्गत अभियान सञ्चालित छ । विभिन्न गैरसरकारी संस्थाहरूको सहयोगमा बाँकेका चार पालिकामा सहकारीमार्फत महिला किसानहरूले खसी बोकाको व्यवसायिक पालन गर्दै आएका छन् ।

बाँकेका खजुरा, बैजनाथ र राप्तीसोनारी गाउँपालिका तथा कोहलपुर नगरपालिकामा सहकारीमाmर्फत जिउँदो खसी बजारीकरण अभियान सञ्चालित छ । तीमध्ये सबैभन्दा धेरै राप्तीसोनारी गाउँपालिकामा १० वटा सहकारीले महिला समूहहरूलाई खसी बोका पालनको लागि अनुदान प्रदान गरिरहेका छन् ।

ती समूहले राप्तीसोनारीमा मात्रै अनुमानित २५ हजार खसी बोका पालन गरिरहेको जननी सामाजिक उद्यमी महिना सहकारी संस्था लिमिटेडका व्यवस्थापक गणेशबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार जजनीमा सातसय जना महिला सेयर सदस्य रहेका छन् । ती मध्ये ४ सय किसानलाई लगानी गरिएको उनको भनाइ थियो ।

‘बजारीकरणका मूख्य बाधक बिचौलिया हुन् । सहकारीमा आवद्ध किसानले उत्पादन गरेका खसी बोकाले उचित मूल्य पाएका छैनन्,’ उनले भने, ‘हामीलाई सुरक्षा निकायको समेत सहयोगको खाँचो छ । भेटेनरी सुविधा नहुँदा झन झन्झट व्यहोर्नु परेको छ ।’

उक्त सहकारीले खसी बोका उत्पादन गरी महिलाहरूलाई स्वरोजगार बनाउनका लागि साढे दुई करोड रुपैयाँ लगानी गरेको छ । राप्तीसोनारीमा रहेका १० सहकारीमा आवद्ध महिलाहरूले न्यूनतम २ देखि अधिकतम् ७७ वटासम्म खसी बोका पालन गरिरहेका छन् । महिला किसान दिपा पुनमगर सहकारीमार्फत स्वरोजगारको राम्रो अवसर पाए पनि बजारीकरणमा समस्या झेल्नु परेको बताउँछिन् ।

उनका अनुसार महिला किसान मात्रै होइन सहकारीसमेत बिचौलियाका कारण समस्यामा पर्ने गरेकोले सरोकारवाला निकायबीच प्रभावकारी समन्वय हुन आवश्यक रहेको छ । सहकारीद्धारा निर्धारित मूल्य अनुसार बिक्री गर्नुपर्ने बाध्यता आफूहरूमा रहेको र बिचौलियाले बजार मूल्यभन्दा सस्तोमा बिक्री गरिदिँदा आफ्ना उत्पादन बिक्री नहुने उनीहरूको दुःखेसो छ । बाँकेमा कूल १७ वटा सहकारी मार्फत महिला किसानले खसी बोकाको व्यवसायिक पालन गरिरहेका छन् ।

सहज बजारीकरणका लागि मूल्य निर्धारण

जिल्लाका चारवटै पालिकामा सञ्चालित अभियानसँग आवद्ध महिलाहरूले उत्पादन गरेका खसी बोकाको सहज बजारीकरण लागि मूल्य निर्धारण गरिएको छ । नजिकिँदै गरेको दसैं तिहारलाई लक्षित गरेर एकरुपताका लागि मूल्य निर्धारण गरिएको हो । अहिले भने १७ वटै सहकारीमार्फत फरक–फरक मूल्यमा खसी बोका बिक्रीवितरण हुँदै आएको छ ।

सहकारीहरूले न्यूनतम ५ सय रुपैयाँ देखि अधिकतम् ५ सय ४० रुपैयाँ प्रतिकेजीसम्म बिक्रीवितरण गर्दै आएका छन् । शुक्रबार १७ वटै सहकारीका प्रतिनिधिहरूको प्रत्यक्ष सहभागितामा दसैं तिहारलाई लक्षित गरेर नयाँ मूल्य निर्धाण गरिएको हो ।

नयाँ निर्धारण अनुसार तौल समूह अन्तर्गत २५ देखि २९ केजीसम्मका खसी बोकाको प्रतिकेजी ५ सय देखि ५१० रुपैयाँ मूल्य तोकिएको छ । ३० देखि ३९ तौल समूहका खसी बोकाको मूल्य ५ सय २० रुपैयाँ, ४० देखि ४५ तौल समूहको ५ सय ३० र ४६ देखि माथिको प्रतिकेजी ५ सय ४० रुपैयाँ तोकिएको छ । यसैगरी ती सहकारीहरूले दसैं तिहारमा महिला किसानले उत्पादन गरेका खसी बोका सहकारी मार्फत अनुमानित न्यूनतम् ७० वटा देखि अधिकतम् ३ सय वटा सम्म बिक्री गर्ने लक्ष्य राखेका छन् ।

यसरी यसपटकको दसैं तिहारको समयमा किसानले उत्पादन गरेका कुल १ हजार ८ सय ३० वटा खसी बोका बिक्री गर्ने उद्देश्य रहेको सामाजिक उद्यमी जिल्ला सहकारी संघ बाँकेले जनाएको छ । जबकी सबैभन्दा धेरै १० वटा सहकारीमार्फत अभियान सञ्चालन रहेको राप्तीसोनारीमा महिलाहरूले अनुमानित २५ हजार खसी बोका पालन गरिरहेका छन् । राप्तीसोनारी गाउँपालिकाकी उपाध्यक्ष धनीकुमारी खत्रीले खसी बोका पालन मार्फत महिलाहरूको सशक्तिकरण सम्भव रहेको बताइन् ।

उपाध्यक्ष खत्रीले महिलाहरूले उत्पादन गरेका खसीबोका बजारीकरणका लागि गाउँपालिकाको तर्फबाट ढुवानीमा सहजताका लागि ५ लाख रुपैयाँ सहयोगको घोषणा गरेकी छन् । बी ग्रुप बाँकेकी उपाध्यक्ष कालिका बस्नेतले पनि बाँके जिल्लाका महिलाहरूको आर्थिक सशक्तिकरणका लागि विभिन्न समूह मार्फत स्वरोजगारमुलक कार्यक्रम सञ्चालन गरिएको बताइन् ।

उनले सहकारी मार्फत महिलाहरुले आर्थिक उपार्जनसमेत गरिरहेको जानकारी दिइन् । सामाजिक उद्यमी तथा जिल्ला सहकारी संघकी अध्यक्ष बसन्ती सुनारले दसैं तिहारको समयमा बढी भन्दा बढी महिलाहरूले उत्पादन गरेका खसी बोका बजारीकरण गर्ने लक्ष्य रहेको बताएकी थिइन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज १७ गते आइतबार