‘कडकनाथ खोज्दै खोरमै ग्राहक’



शिवु खनाल । दाङ ।

विरलै पाइने ‘कालो कडकनाथ’ कुखुरा पालनमा जोड दिइरहेका छन्, देउखुरी लमहीका मोहन केसीले । लमही नगरपालिका वडा नम्बर–४ अर्नवा निवासी केसीले कान्छी रोड पूर्व गल्लीमा मनकामना पोल्ट्री केयर सेन्टर चलाउँदै आएका छन् ।

स्थानीय जातका कुखुरासँगै कडकनाथ पालेर उनी जिल्लाकै उदाहरणीय किसान बनेका छन् । झन्डै एकसय पचास वटा कडकनाथ कुखुराबाट व्यवसायी सुरु गरेका अहिले थप्ने तयारी गरिरहेका छन् । ‘परीक्षणका लागि कडकनाथ पाल्न सुरु गरेको थिएँ ।

अहिले त माग ह्वात्तै बढ्यो । अब विस्तार गर्ने योजनामा छु,’ केसी भन्छन् । कालो जातको यो कुखुरा कालिजजस्तै हुन्छ । बजारमा उक्त कुखुराको मासु प्रतिकेजी दुई हजार ५ सय रुपैयाँसम्म बिक्री हुने गर्दछ ।

केसीको खोरमा अहिले भाले पोथि गरि करिब एकसय ५० वटा कडकनाथ जातका कुखुरा, ३० वटा लुइचे र दुइसय भन्दा बढी स्थानीय लोकल जातका कुखुरा रहेका छन् । ‘कडकनाथ कुखुरा कालो रंग र मासु पनि कालै हुन्छ,’ उनले भने, ‘अब लोकल कुखुरा र कडकनाथको समेत फरक–फरक उत्पादन बढाउने तयारीमा छु ।’

लोकल कुखुरा पनि प्रतिकेजी ८ सय, कडकनाथ एक हजार रुपैयाँमा खोरबाटै बिक्री हुन्छ । कडकनाथको उत्पादन थाहा पाएपछि जिल्ला बाहिरबाट बढी माग भइरहेको केसीले बताए । बुटवल, भैरहवा, नेपालगन्ज, घोराही, तुलसीपुर लगातका स्थानहरूबाट कडकनाथको खोजी गर्ने गरेको उनले बताए । ‘कडकनाथ कुखुरालाई दानामा धेरै खर्च हुँदैन ।

बारीको कलिलो घाँस र घरैमा पाइने धान, मकै र गहुँ तथा भटमास खुवाउन सकिन्छ,’ केसीले भने । कान्छी रोड पूर्व गल्लीमा मनकामना पोल्ट्री केयर सेन्टर सञ्चालन गर्दै आएका केसीले कडकनाथ कुखुरापालनबाट आफू सन्तुष्ट रहेको उनी बताउँछन् ।

लकडाउनका बेला पनि स्थानीय बजार र जिल्ला बाहिरका विभिन्न स्थानहरूबाट खोरमै ग्राहकहरू कुखुरा किन्न आएको केसीको भनाइ छ । ‘कुखुराको डिमान्ड धेरै भएकै कारण सुरूवाती चरणमा जिल्ला बाहिरबाट प्रति पिस एकसयका दरले कडकनाथ जातका चल्ला एकसय ५० वटा रूपैयाँ प्रतिगोटा किनेर ल्याएको हुँ’, उनी भन्छन्, ‘दुई कठ्ठा जग्गामा व्यवसायिक रूपमा कडकनाथ कुखुरा र स्थानीय लोकल कुखुरा पाल्न सुरु गरेको हुँ ।’

के हो कडकनाथ ?

कडकनाथ कुखुरा कालो मासु हुने कुखुराको प्रजाति हो । यसको बाहिरको रौं र छालासमेत कालै हुन्छ । कडकनाथ कुखुरालाई स्थानीय भाषामा कालामासी, कालामास पनि भनिन्छ ।

किनभने यसको मासु, छाला, शरीरको रौं सबै कालो हुन्छ । कडकनाथ कुखुरालाई लोपोन्मुख पनि मानिन्छ । कडकनाथ प्रजातिको कुखुराको बजार राम्रो भएकाले कृषकको भविष्य उज्वल रहेको व्यवसायीहरू बताउँछन् ।

कडकनाथ कुखुरा नेपालको तराई र पहडी भेगमा पालन गर्न सकिन्छ । यसको अण्डामा समेत उच्च रुपमा प्रोटिनको मात्र हुने र फ्याटको मात्र कम हुने हुँदा सबै मानिसका लागि खान उपयुक्त मानिन्छ । यस्को प्रयोगले टाउको दुख्ने, रिंगटा लाग्ने र किड्नीको समस्यालाई नि कम गराउँछ ।

नेपालमा कडकनाथ जातको कुखुराको व्यवसायिक सम्भावना छ र हालसालै कहिँ कतै यसको पालनसमेत गर्न थालिएको छ । यो कुखुरा नेपाल जस्तो हावापानीमा सजिलै गर्न सकिन्छ । हेर्दा कालो हुने हुँदा धेरै ले यसलाई मन नपराउने भएता पनि यसको पोषण तत्वको हिसाबले उत्कृष्ट कुखुराको मासुका रुपमा लिइन्छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज १७ गते आइतबार