कोहलपुर ।
नेपालमा गुणस्तरीय र सस्तो मूल्यमा दैनिक उपभोग्य वस्तु बिक्री गर्ने संस्थाका रुपमा परिचित छ, भाटभटेनी सुपरमार्केट । अन्यत्रभन्दा यहाँ राम्रो, सस्तो र गुणस्तरीय सामग्री पाउँछ भनेर पनि सेवाग्राही जाने गर्दछन् ।
अधिक भरोसा पनि कहिलेकाँही हानिकारक नै हुन्छ भन्ने नेपाली उखान छ नि । अहिले यो उखान भाटभटेनी सुपरमार्केटको सेवाका सन्दर्भमा सही सावित भएको छ । भाटभटेनी भन्नेबित्तिकै गुणस्तरीय वस्तु पाइन्छ भन्दै आँखा चिम्लेर जाने ग्राहकको यही भरोसालाई भाटभटेनीले राम्रैसँग फाइदा उठाएको पाइएको छ ।
यहाँ गुणस्तरहीन खाद्यवस्तुमात्रै होइन, चर्कोमूल्य र अवैध उद्योगका सामग्री बिक्रीका लागि राखिने गरिएको पाइएको छ । ग्राहकको भरोसाको फाइदा उठाउँदै भाटभटेनी सुपरमार्केटले ठगी गरेको पाइएको हो । देशभर सञ्चालित अधिकांश सुपरमार्केटबाट भारी मात्रामा म्याद गुज्रेका अखाद्य वस्तु, त्यो पनि अवैध उद्योगबाट उत्पादित वस्तु बरामद भएका छन् ।
चाडपर्व लक्षित अनुगमनका क्रममा गुणस्तरहीन वस्तु उपभोक्तालाई बिक्री गरिरहेको पाइएको हो । यतिमात्रै होइन, भाटभटेनीले मनपरी वस्तुको मूल्य बढाउने गरेको पाइएको छ ।
वस्तुको बजार मूल्य अंकित स्टिकरलाई कोपरेर आफैं नयाँ मूल्यसहितको स्टिकर टाँसेको सूचना मिसनटुडेलाई प्राप्त भएको छ । नेपालगन्जमा मात्रै होइन, देशभरमा भाटभटेनीले ठगी गर्दै आएको पाइएको हो । केही दिनअघि दैलेखका पत्रकार गोविन्द केसी सामग्री खरिदका लागि नेपालगन्जस्थित भाटभटेनी सुपरमार्केटमा छिरेका थिए ।
प्राय नेपालगन्जमा आउँदा उनले साल्टेड पिनट (फ्राइ बदाम) भाटभटेनीबाटै खरिद गर्ने गर्दथे । तर, एक साताको अन्तरमा आउँदा उनले अधिक चर्को रुपमा मूल्य बढाइएको पाए । त्यो पनि पुरानो मूल्य अंकित स्टिकर कोपरेर नयाँ स्टिकरसहित मूल्य पनि नयाँ राखिएको पाए । ‘एक हप्ताअघि मात्रै आउँदा मैले सोही पिनट एक सय रुपैयाँ प्रतिप्याकेट खरिद गर्ने गरेको थिएँ ।
तर, अस्ति त अकस्मात बढेको पाएँ । पुरानो मूल्य पनि मेटिएको छ । एक सय रुपैयाँको सामग्री एक सातामै एकसय ५५ कसरी पुग्यो,’ उनी भन्छन्, ‘यो त अचाक्ली नै भयो । ठूला व्यवसायी भनेपछि कसैले नियमन गर्नै नसक्ने हो र ?’ मंगलबार नेपालगन्जको भाटभटेनीमा अनुगमन गरिएको थियो ।
गुणस्तरहीन अखाद्य वस्तु विक्री वितरण भइरहेको सूचना पाएपछि अनुगमन गरिएको थियो ।
नभन्दै त्यसदिन म्याद गुज्रिसकेको बेकरी आइटम बिक्री गरिरहेको पाइयो । अनुगमन समितिले भारी मात्रामा कच्चा पदार्थ बरामद गर्यो । जो मानवीय स्वास्थ्यका लागि निकै हानिकारक थिए । करिब दुई लाख बढीको म्याद गुज्रेको बेकरी आइटम बरामद भएको थियो । दुई लाख रुपैयाँ उक्त बेकरी उद्योगलाई जरिवाना पनि तोकिएको छ ।
त्यसको दुई दिन नबित्दै पुनः शुक्रबार संयुक्त बजार अनुगमन समितिले भाटभटेनी सुपरमार्केटमा चर्को मूल्यमा वस्तु बिक्री वितरण भएको पाएको छ । शुक्रबार भएको अनुगमनमा पेय पदार्थ तोकिएको बजार मूल्यभन्दा अधिक चर्को मूल्यमा बिक्री वितरण गर्ने गरेको पाइएको हो । उपभोक्ताको विश्वासलाई नजरअन्दाज गर्दै भाटभटेनीले तीनै उपभोक्तालाई ठग्ने गरेको पुष्टि भयो ।
चर्को मूल्यमा ‘डग फुड’ बिक्री वितरण गर्दै आएको पाइएपछि अनुगमन समितिले दुई लाख रुपैयाँ जरिवाना तोकेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका प्रमुख कृष्णप्रसाद पौड्यालका अनुसार ‘डक फुड’ अधिक मूल्यमा बिक्री वितरण गरेको पाइएपछि दुई लाख रुपैयाँ जरिवाना गरिएको हो ।
पौड्यालले भाटभटेनी सुपरमार्केटले कुकुरलाई खुवाउने खानेकुरा ‘डग फुड्स’मा अत्यधिक मुनाफा लिनेगरी बिक्री वितरण गरेको पाइएकाले मूल्य समायोजन गरी बिक्री वितरण गर्ने चेतावनीसहित दुई लाख जरिवाना गरिएको जानकारी दिए । उनले भने, ‘अनुगमनको क्रममा खरिद बिल र बिक्री बिलमा धेरै नै असमानता भेटिएकाले जरिवाना गरेका हौं ।
तोकिएको मूल्यभन्दा पनि अधिक मूल्यमा बिक्री वितरण गरेको भेटिएकाले पहिलो चरणमा दुई लाख रुपैयाँ जरिवाना गरेका छौं । जरिवाना नतिरी ती वस्तुहरूमा पुनः मूल्य समायोजन नगरेर बिक्री गरे थप कारबाही गरिनेछ ।’ यस्तै, सोही अनुगमन टोलीले बिहीबार अनुचित व्यापारिक क्रियाकलाप गर्ने दुई फर्मलाई पनि ७० हजार रुपैयाँ जरिवाना गरेको थियो ।
लेवल नलगाइएका करिब चार सय बोरा चामल बिक्री वितरणमा पनि रोक लगाइएको छ । यस्तै, खान अयोग्य तथा म्याद गुज्रिसकेका करिब ६ हजार मूल्य बराबरको खाद्य सामग्री नष्ट पनि गरिएको पौड्यालले जानकारी दिए । अनुगमनका क्रममा पसलहरुमा मूल्यसूची नियमित रुपमा अद्यावधिक गर्न, उपभोक्ता झुक्याउने काम नगर्न र लेवल नभएका सामग्री बिक्री वितरणमा रोक लगाउँदै बिलबिजक राख्न निर्देशन समेत दिइएको छ ।
बजार अनुगमनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जका प्रमुख कृष्णप्रसाद पौड्याल, सोही कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाई, जिल्ला प्रशासन कार्यालयका महेश्वर पौडेल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका विवेक सुवेदी, नेपालगन्ज उपमहानगरपालिकाका प्रविण राना, अधिवक्ता एवं उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य वसन्त गौतम लगायतको सहभागिता रहेको थियो । यस्तै, भाटभटेनीमा अहिले दैनिक उपभोग्य वस्तुको मूल्य अचाक्ली बढाइएको छ ।
खाने तेलमा २० प्रतिशतभन्दा बढी नाफा खाइरहेको पाइएको छ । देशका शाखाहरुमा भएका अनुगमनमा गुणस्तरहीन सामग्री बिक्री भइरहेको, प्याकिङ गरिएका खानेकुराहरु बजारमूल्य भन्दा निकै चर्को मूल्य लिइने गरेको पाइएको छ । केही शाखाहरुमा त तरकारीमा पनि तौल नपु¥याएरै उपभोक्ता ठक्ने काम भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्