19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

जिपले ठक्कर दिँदा दुई छात्राको मृत्यु, तीन गम्भीर घाईते

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, अशोज १६, २०७८  

कोहलपुर ।

सल्यानमा जिपले ठक्कर दिँदा दुई छात्राको मृत्यु भएको छ । विद्यालय जानको लागि सडक छेउमा बसेका पाँच जना छात्रालाई शुक्रबार बिहान जिपले ठक्कर दिएको थियो ।

तीमध्ये उपचारका लागि नेपालगन्ज ल्याउँदै गर्दा दाङमा दुई छात्राको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । अन्य तीन छात्रा गम्भीर घाईते भएका छन् ।

थारमारेबाट श्रीनगरतर्फ आइरहेको लु २ च ५७०१ नम्बरको डबल क्याप जिपले शारदा नगरपालिका–६ बाङ्गे सल्लाको नजिकै सडक छेउमा बसिरहेका पाँच छात्रालाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

गम्भीर घाईते शारदा नगरपालिका–६ बरलाकी १८ वर्षीया रेखा बुढाथोकी र सोही ठाउँकी १८ वर्षीया सुनिता नेपालीलाई उपचारका लागि नेपालगन्ज लैजाने क्रममा दाङको राम्रीमा पुगेपछि मृत्यु भएको थियो ।

गम्भीर घाइते रेखा र सुनितालाई छाती तथा मुखमा गहिरो चोट लागेकोले प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएकामा बाटोमै मृत्यु भएको हो ।

अन्य गम्भीर घाईतेहरुमा शारदा नगरपालिका–६ बरालाकी १८ वर्षीया मीना परियार, १६ वर्षीया सुशीला नेपाली र १८ वर्षीया दीपा बुढाथोकीको समेत नेपालगन्जमा उपचार भइरहेको छ । शिवजन माविमा कक्षा १२ मा अध्ययनरत छात्राहरु सडकको छेउमा बसिरहेको बेला तीव्र गतिमा रहेको जिप अनियन्त्रित भई दुर्घटना भएको स्थानीय प्रहरीले जनाएको छ ।

जिपमा सवार चारजना भने सकुशल रहेका छन् । छात्राहरुलाई ठक्कर दिएपछि जिप सडकभन्दा १० मिटर तल खसेको थियो । दुर्घटनापछि फरार जिप चालक शारदा नगरपालिका–४ निवासी टङ्कबहादुर ओलीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको सल्यान प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः शनिबार, अशोज १६, २०७८     8:08:52 AM  |