20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

बागेश्वरी नकआउट फुटबल: सनलाइटलाई हराउँदै रोयलको जीत

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, अशोज १६, २०७८  

नेपालगन्ज ।

बाँकेको नेपालगन्ज रंगशालामा शुक्रबारदेखि प्रथम बागेश्वरी नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा हसनापुरको सनलाइट युथ क्लवलाई पराजित गर्दै आयोजक रोयल नेपालगन्ज फुटबल क्लव विजयी भएको थियो ।

उद्घाटन खेलमा सनलाइटलाई रोयल नेपालगन्जले ७–१ गोलले पराजित गरेको हो । खेल सुरु भएको ६ मिनेटमै सनलाइटका कृष्ण खड्काले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । रोयलका विशाल थापाले खेलको ३२ मिनेटमा पहिलो गोल गरे ।

विशालले खेलको ४० मिनेटमा अर्को गोल थपेर टिमलाई अग्रता दिलाए । मध्यान्तरसम्ममा २–१ गोलले अग्रता लिएको रोयलले त्यसपछि पाँच गोल थपेको थियो । रोयल नेपालगन्जका भुपेन्द्र शाहीले ५९ र ७६ मिनेट, बिभुषण केसीले ६४ र ६५ मिनेट, प्रकाश बुढाथोकीले ६१ मिनेटमा गोल गरेको आयोजक रोयल नेपालगन्ज फुटबल क्लवले जनाएको छ ।

उद्घाटन खेलमा रोयलका विशाल थापा म्यान अफ द म्याच भएको क्लवका उपाध्यक्ष माधव अर्यालले जानकारी दिए । प्रतियोगिताको एक कार्यक्रमका बीच शुक्रबार लुम्बिनी प्रदेश सभा सदस्य सुरेन्द्र हमालले उद्घाटन गरेका थिए ।

सो अवसरमा बोल्दै उनले खेलको विकासका लागि यस्ता खाले प्रतियोगिताहरु निरन्तर हुनु पर्ने बताए । आगामी २१ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टिमलाई एक लाख एघार हजार एक सय एघार रुपैयाँ, द्धितिय हुनेलाई ५१ हजार एक सय एघार रुपैयाँ, मेडल, ट्रफि र प्रमाणपत्र दिइनेछ । प्रतियोगितामा १४ वटा जिल्लाभित्रका टिमले भाग लिएका छन् ।

आज शनिबार दिउँसो दुई बजे नेपालगन्ज रंगशालामा धम्बोझी क्लव र मोडल तथा चार बजे रेसिङ साहरा र न्यू भगवती क्लव बीचमा खेल हुने आयोजक रोयल नेपालगन्जले जनाएको छ ।

प्रकाशित मितिः शनिबार, अशोज १६, २०७८     7:00:38 AM  |