शुभाकर विश्वकर्मा । कोहलपुर ।
बाँके कांग्रेसका लागि एक अर्थपूर्ण जिल्ला हो । पार्टी स्थापनाको करिब ६ दशकपछि बाँकेमा नेतृत्व आइपुगेको थियो ।
भलै स्वर्गीय सुशील कोइराला पार्टीको विरासत बोकेको कोइराला परिवारभित्र जोडिएका हुन् । तर, पश्चिम नेपालमा पार्टीको नेतृत्व ल्याउने उनै सुशील कोइराला नै थिए । तर, उनको शेषपछि कांग्रेसमा केन्द्रीय तहमा नेतृत्व गर्ने अर्को कुनै नेता जन्मेन ।
यद्यपि सुशील कोइराला परिवारभित्र पनि त्यस्तो कोही जन्मेन, जसले केन्द्रीय नेतृत्वलाई चुनौती दिन सकोस् । अहिले १४ औं महाधिवेशनका लागि देशभर वडा, पालिका र जिल्ला अधिवेशनहरुको चटारो छ । बाँकेसहित १३ जिल्लाबाहेक अन्यत्र वडाअधिवेशन सकिएर पालिका अधिवेशन पनि सम्पन्न भइसके । केहीमा त जिल्ला अधिवेशन नै गर्ने तयारी चलिरहेको छ ।
लामो समयको रस्काकस्सीपछि बाँकेको क्रियाशील सदस्यता विवाद टुंगियो । मनपरी सदस्यता सूची पठाइएको भन्दै विवाद भएपछि छानबिन समितिले अन्यत्र वडा अधिवेशन भइसक्दा पनि बाँकेलगायतका जिल्लाको सदस्यता सूची नै सार्वजनिक गर्न सकेको थिएन । धेरै प्रयासका बावजुद अस्ति ९ गते करिब १० हजारको हाराहारीमा बाँकेको क्रियाशील सदस्यताको सूची सार्वजनिक भयो ।
त्यसलगत्तै अधिवेशनको सुरुवात हुन्छ कि भन्नेमा जिल्लास्थित नेता कार्यकर्ताहरु उत्साहित थिए । तर, अहिले तत्काल यसको कुनै सम्भावना देखिँदैन । हुन त बाँकी जिल्लासहित बाँकेको अधिवेशन पनि एकैपटक गर्ने पार्टीको तयारी रहेको बताइन्छ । तर, बाँकेको अवस्था भने केही भिन्न छ । पार्टी नेतृत्वभित्रको आन्तरिक विवाद र पानी बाराबारको स्थिति हेर्दा सहजै अधिवेशन सम्पन्न हुनेवाला भने छैन ।
संस्थापन र इतरपक्षका रस्साकस्सीकै कारण लामो समयसम्म सदस्यता विवाद उल्झनमा परेको थियो । धौ–धौ गरी विवाद टुंग्याएर सूची सार्वजनिक गरिए पनि दुवै पक्षका नेताहरु यसमा सन्तुष्ट देखिँदैनन् । दुवै पक्षले एक अर्कालाई आरोप लगाउँदै आएका छन् । शक्तिको पहुँचमा जबरजस्ती आफूहरुलाई संस्थापन पक्षले दवाउन खोजिएको संस्थापन इतर पक्षको आरोप छ । यस्तै संस्थापन पक्षका नेताहरु पनि मनपरी सदस्यता वितरण गरिएको भन्दै असन्तुष्टि जनाउँदै आएको छ ।
सदस्यता सूची नआउँदासम्म सबै तहमा अधिवेशनमा सहमतिमै नेतृत्व टुंग्याउनुपर्ने र त्यसले आगामी स्थानीय तहको चुनावमा पनि राम्रो प्रतिफल दिने भन्दै आएकी बाँके कांग्रेसकी सभापति किरण कोइराला अहिले भने कुनै चासो नै नभएको बताउन थालेकी छिन् ।
केही साताअघि मिसन टुडेसँगकै कुराकानीमा सभापति कोइरालाले भनेकी थिइन्, ‘स्थानीय तहको चुनाव पनि आउँदैछ । अब क्रियाशील सदस्यता विवाद टुंगो लाग्नेबित्तिकै हामी सबै तहमा सहमतिमै नेतृत्व चयन गराउनका लागि पहल थाल्नेछौं । यसले स्थानीय तहको चुनावमा पार्टीलाई बलियो र एकजुट उभ्याउनेछ ।’
तर, सदस्यता सूची सार्वजनिक भएपछि जिल्लामा स्थानीय तहदेखि जिल्लासम्मका लागि आफ्नो कुनै भूमिका नहुने बताउँछिन् । बिहीबार मिसनकर्मीसँगको कुराकानीमा कोइरालाले भनिन्, ‘यो विषय मलाई किन सोध्नुहुन्छ । अब पार्टीले निर्वाचन समितिलाई जिम्मेवारी दिएको छ । कहिले मिति टुंगो लाग्छ मलाई थाह छैन । सहमतिमै नेतृत्व चयन हुन्छ कि निर्वाचनमा गएर हुन्छ यसबारे मलाई केही थाह छैन ।’
केही समयअघिसम्म सहमतिको रटान लगाउने सभापति नै अहिले आफूलाई कुनै चासो नै नभएजस्तो देखाउनुले पनि पुष्टि हुन्छ कि केन्द्रको निर्णयप्रति उनी खुसी छैनन् । कसले आफ्ना पक्षमा मानिस बढी सदस्यता सूचीमा पार्ने होड चलिरहेका बेला संस्थापन पक्ष केही हावी भएकै थियो । सोही कारण पनि संस्थापन इतरको पक्षले अहिले संस्थापन पक्षलाई पावरको देखाउन खोजेको आरोप लगाउँदै आएको छ ।
अन्यत्र भने धमाधम पालिका अधिवेशन चलिरहेको छ । केही जिल्लामा त सकिक्यो पनि । बाँकेकी छिमेकी जिल्ला बर्दियामै वडा अधिवेशन सकेर पालिका अधिवेशन पनि सम्पन्न भइसक्यो । तर, सदस्यता विवादका कारण बाँकेमा वडा तहकै अधिवेशन सुरु हुन सकेको छैन ।
अब बाँकेको अधिवेशन दसैंअघि सम्पन्न हुने संकेत देखिँदैन ।
यसै पनि दोस्रोपटक म्याद थप गरी हुन लागेको कांग्रेसको १४ औं महाधिवेशनका लागि केही जिल्लाका कारण अझै ढिलाइ हुने देखिन्छ । केन्द्रीय नेतृत्वको आन्तरिक लडाईंमा जिल्ला चेपुवामा परेका हुन् । नयाँ सदस्यता दिँदा मनपरी ढंगले सूची पठाइएको भन्दै विवाद भएको थियो । विगतमा मिसिन आएका अखण्ड नेपाल, विजयकुमार गच्छदारको लोसपा र सुनिल थापाको राम्राबाट आएकाहरुलाई सदस्यता दिँदा बाँकेमा विवादित बनेको थियो ।
वडाबाटै क्षेत्रीय प्रतिधिनिसम्म पुग्ने बाटो खुला भएको र क्षेत्रीय प्रतिनिधिले केन्द्रीय महाधिवेशनमा समेत अर्थ राख्ने भएका कारण पनि अहिले संस्थापन र संस्थापन इतरका समूहले वडालाई पनि महत्वपूर्ण रुपमा हेरेका छन् । बाँकेमा सूची आए पनि अधिवेशन कहिले हुन्छ भन्ने अन्योलमा छन्, नेता कार्यकर्ता ।
वडा अधिवेशन नहुँदा पालिका अधिवेशन प्रभावित हुने भएकाले वडादेखि जिल्लासम्मको अधिवेशन एकैसाथ गर्ने कांग्रेस केन्द्रीय समितिको तयारी छ । त्यसैले पनि अब दशैं अघि वडा अधिवेशन बाँकेमा नहुने जस्तै देखिन्छ । चाडपर्वका कारण भन्दा पनि शक्ति असन्तुलनका कारण बाँकेको वडा अधिवेशन प्रभावित बनेको कांग्रेस बाँकेका सचिव तप्त पौडेल बताउँछन् ।
‘भन्नलाई त चाडपर्व र सोह्र श्राद्ध पनि भनिएको छ । तर, हिमाली जिल्लाहरुमा जिल्ला अधिवेशनको तयारी हुँदै गर्दा यतिले त बाँकेमा वडा अधिवेशन रोकिन नहुने हो नि ?’ उनी भन्छन् । सदस्यता विवरण आए पनि बाँकेमा सहज रुपमा वडा अधिवेशन हुने संकेत नदेखिएको सचिव पौडेल आफैं बताउँछन् । उनका अनुसार अझै पनि संस्थापन पक्षले किचलो निकाल्न खोजिरहेको छ ।
मिसनसँगको कुराकानीमा पौडेल भन्छन्, ‘संस्थापनका नेताहरुले आफ्नो पावर एक्सेस देखाइरहेका छन् । अब अधिवेशन कहिलेदेखि सुरु हुन्छ भनेर मलाई सोध्नुभन्दा पनि सभापति शेरबहादुर देउवा र उहाँका मान्छे माधवराम खत्रीलाई सोध्नुहोस् ।’ उनका क्षेत्रीय सभापति खत्रीले कुनै हालतमा बाँकेमा अधिवेशन सहज रुपमा हुन नदिने भनेर चेतावनी नै दिएका छन् । बाँकेमा विवाद हुनुका कारण नै क्षेत्रीय सभापति माधवराम खत्री भएको पार्टी सचिव पौडेलको आरोप छ ।
कांग्रेसले बाँकेमा वडा अधिवेशनका लागि निर्वाचन अधिकृतका रुपमा वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराईलाई पठाइसकेको छ । उनका अनुसार अहिले सोह्र श्राद्ध चलेकाले कार्यकर्ताहरु त्यतै व्यस्त हुने तथा दसैं नजिकिएकाले पनि अधिवेशन सम्भव छैन । दसैंलगत्तै बाँकेका आठै तहका वडाहरुमा अधिवेशन हुने उनको भनाइ छ । तर, उनलाई पठाएकोबारे आफूहरु जानकार नै नभएको पार्टीको जिल्ला समितिले जनाएको छ ।
कांग्रेसको बाँके पार्टी कार्यालय सचिव उमेश शर्मा आफूहरुलाई निर्वाचन अधिकृत खटाइएकोबारे कुनै जानकारी नै नभएको बताउँछन् । ‘अहिलेसम्म निर्वाचन अधिकृत तोकेको भनेर हामीलाई जानकारी आएको छैन ।
सम्बन्धित व्यक्ति पनि जिल्ला समितिको सम्पर्कमा पत्र लिएर आउनुभएको छैन । अहिले अधिवेशनबारे हामी केही भन्न सक्दैनौं ।’ उनको यो भनाईबाट पनि स्पष्ट हुन्छ कि संस्थापन पक्षले जिल्ला समितिलाई नै बाइबास गरेको छ । बाँकेमा हाल शशांक कोइराला पक्षको नेतृत्व छ ।
यता क्षेत्रीय सभापति माधवराम खत्री आफूमाथि लगाइएको आरोप मित्थ्या भएको बताउँछन् । ‘मेरो कारण अधिवेशन प्रभावित भयो भन्नुमा कुनै सत्यता छैन । कसरी मेरो कारण समस्या उत्पन्न हुन्छ र ? म त पार्टीको विधिविधानअनुसार चल्ने मान्छे हो’, मिसनटुडेसँगको कुराकानीमा उनले भने ।
पार्टीको निर्वाचन समितिले मिति घोषणा गरेपछि मात्रै अधिवेशन आरम्भ हुने उनको भनाइ छ । सदस्यता विवादमा केही समस्या भए पनि अहिले सल्टिसकेको उनको भनाइ छ । ‘सदस्यताका सन्दर्भमा केन्द्रीय समितिले बैठक राखेको थियो । त्यहाँ मनपरी ढंगले सूची पठाइएको पाइएपछि बिमति राखेकै हो । अहिले पनि उक्त सूचीप्रति बिमति छ’, उनी भन्छन्, ‘तर, मेरै कारण अधिवेशन प्रभावित भयो भन्नु फगत नै हो । यो विवादमा मेरो कुनै भूमिका नै छैन ।’
उनले अहिले तयारीहरु नपुग्ने भएका कारण पनि बाँकेको अधिवेशन सुरु नहुने बताए ।
अहिले बाँकेको कांग्रेस नेतृत्वमा रहेकाहरुको अभिव्यक्ति हेर्दा केन्द्रीय छानबिन समितिले दबाबमै सदस्यता सूची सार्वजनिक गरेको जस्तो देखिन्छ । खत्री पनि सहमतिका लागि पहल थाल्न अनुरोध आएपछि मात्रै आफूहरुले सहयोग गर्ने नत्र सम्बन्धित क्षेत्रले निर्वाचन गर्ने कि सहमतिमै टुंग्याउने भन्ने निधो गर्ने बताउँछन् ।
बाँकेका आठवटा स्थानीय तहमा ८१ वटा वडा छन् । पहिले वडा अधिवेशन सकेपछि मात्रै पालिका अधिवेशन सकिन्छ । तर, कांग्रेसले समय अपुग भएकाले लगातार अधिवेशन गर्ने तयारी पनि गरिरहेको छ । क्षेत्र र जिल्ला अधिवेशन हुँदै प्रदेश अधिवेशन पनि तोकिएकै समयमा सक्नुपर्ने भएकाले बाँकी रहेका जिल्लामा फास्ट ट्र्याकबाट अधिवेशन सम्पन्न गराउने तयारी भइरहेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
पालिकामा सकिएपछि प्रदेश क्षेत्रीय अधिवेशन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशन सम्पन्न हुनेछ । अघिल्लो अधिवेशनभन्दा अहिले दोब्बर बढीले क्रियाशील सदस्य बढेका छन् । बाँकेमा १४ औं महाधिवेशनका लागि ९ हजार ६७८ जनाको क्रियाशील सदस्यता सूचीमा उल्लेख छ ।








प्रतिक्रिया दिनुहोस्