बन्जी जम्पमा बाँकेका पत्रकारलाई ५० प्रतिशत छुट



नेपालगन्ज ।

पोखरास्थित बन्जी नेपाल एड्भेन्चर्स प्रा.लि.ले साहसिक बन्जी खेलका लागि बाँकेका पत्रकारलाई ५० प्रतिशत छुट दिने भएको छ । यसका लागि बन्जी नेपाल एड्भेन्चर्स प्रा.लि र नेपाल पत्रकार महासंघ बाँके शाखाबीच बुधबार सम्झौता भएको हो ।

साहसिक बन्जी खेल प्रबद्र्धन गर्नका लागि नेपालगन्ज आएका एड्भेन्चर्स प्रा.लि.का अध्यक्ष सन्तोष भट्टराई र नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीबीच सम्झौता पत्रमा हस्ताक्षरण भएको थियो ।

‘पोखरामा बन्जीजम्प गर्न चाहने पत्रकारले महासंघको सिफारिस लिएर गएमा ५० प्रतिशत छुट सुविधा पाउने छन्,’ महासंघका सचिव कमल डाँगीद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘यो सम्झौताबाट कार्य ब्यस्तताका बीच बिदा मनाउने क्रममा बन्जी खेल्न अभिरुची राख्ने पत्रकारलाई सहयोग त पुग्ने नै छ, साथै पर्यटन प्रबद्र्धनका लागि नेपालगन्ज–पोखराबीच सामिप्यता बढाउन भइरहेका प्रयासलाई प्रोत्साहन गर्ने आशा राखिएको छ ।’

बन्जी नेपाल एड्भेन्चर्स प्रा.लि.को बन्जी जम्प गर्न अन्य ब्यक्तिले ६ हजार रुपैयाँ शुल्क तिर्नुपर्छ । त्यसभित्र फोटो, भिडियो, टिसर्ट लगायत सुविधा पनि रहेको छ । तर, अब सम्झौता अनुसार बाँकेका पत्रकारले अब ३ हजार रुपैयाँ मात्र शुल्क तिरे पुग्नेछ ।

५० प्रतिशत छुट पाउँनको लागि पत्रकार महासंघ बाँके शाखाको सिफारिस भने अनिवार्य रुपमा चाहिने बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज १४ गते बिहीबार