कृष्ण ओली । नेपालगन्ज ।
जाजरकोटका पदम कामी दसैं तिहार मनाउनको लागि भारतको सिमलाबाट सोमबार बिहान जमुनाहा नाका आइपुगे । सिमलाबाट तीन दिनको कष्टपूर्ण यात्रापछि जमुनाहा नाका आइपुगेका पदमको साथमा गुन्टा र झोला थिए ।
तर, उनीलाई जमुनाहा चेक पोष्टमा खटिएका प्रहरीले एक समय रुपैयाँ नदिँदासम्म चेक पोष्टबाट अगाडि बढ्न दिएनन् । चाडपर्व मनाउनको लागि अर्काको देशमा दुःख गरेर कमाएको अलिक पैसा जोगाएर घर फर्किँदै गरेका कामीको गुन्टा र झोलामा भन्सार लाग्ने र ल्याउन नमिल्ने कुनै वस्तु थिएन ।
‘केही कमाएको पैसा जोगाएर दसैं तिहार मनाउन घर फर्किँदै थिएँ,’ उनले भने, ‘तर, नेपाल प्रवेश गर्ने ठाउँमा नै आफ्नै नेपाली सुरक्षाकर्मीबाट लुटिएको जस्तो अनुभव भयो ।’ कामीले प्रहरीको असुली धन्दाविरुद्ध लिएको अडान र सँगैका साथीहरूले समेत विरोध गरेपछि मुस्किलले असुलीको एउटा स्थान उनले पारेका गरेका थिए । ‘प्रहरीको ज्यादतीविरुद्ध आफू र साथीहरू बोलेपछि यो चेक पोष्ट पार गरियो ।
अब अगाडिका स्थानमा कति दुःख पाइने हो थाहा छैन’, सोमबार जमुनाहामा भेटिएका कामीले भने । सुर्खेतकी अन्जु पुनसँग समेत नाकामा खटिएका सुरक्षाकर्मीहरूले रकम असुली गर्न छाडेनन् । ‘५०/६० रुपैयाँ दिइम् भने छोडिदिँदो रहेछ,’ उनले भनिन्, ‘पैसा नदिदाँसम्म भित्र हालिदिँदो रहेछ ।’ पदम र अन्जु त जमुनाहा नाका क्षेत्रमा रहेका सुरक्षाकर्मीका चेक पोष्टमा दुःख पाउँने प्रतिनिधिमुलक पात्र मात्र हुन् ।
भारतका विभिन्न ठाउँबाट कमाई गरेर दसैं–तिहार मनाउन घर फर्किने नेपालीहरू जमुनाहामा सुरक्षाकर्मी र भन्सारका कर्मचारीबाट लुटिने गरेका छन् । सुरक्षाकर्मी र भन्सारका कर्मचारीहरूले जमुनाहा नाकासँगै सीमाका गौडा ढुकेर २० रुपैयाँदेखि माथि जति नै पाइन्छ त्यही नै रकम असुल्दै आएको भारतबाट फर्किने नेपालीहरू बताउँछन् ।
चौलिका चोकदेखि जमुनाहासम्म दुई किलोमिटरको दूरीमा चार वटा चेकजाँच गर्ने पोष्टहरू रहेका छन् । जमुनाहा र भन्सार कार्यालय अगाडि नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपालगन्ज भन्सारका कर्मचारीहरूले संयुक्त रुपमा नेपाल भित्रिनेहरूलाई संयुक्त रुपमा चेकजाँच गर्ने गर्दछन् । जैसपुरमा नेपाल प्रहरी र चौलिका चोक नजिकै सशस्त्र प्रहरीले छुट्टाछुट्टै रुपमा चेकजाँचको नाममा रकम असुली गर्छन् ।
गुन्टा र झोलामा विभिन्न सामानहरू रहेको भन्दै सुरक्षाकर्मी र भन्सारका कर्मचारीले घर फर्किँदै गरेका परदेशीबाट रकम असुली गर्छन् । यता जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले प्रहरीले रकम असुली ग¥यो भन्नेमा कुनै सत्यता नभएको बताए । ‘भारतबाट कमाएर घर फर्किने नेपालीलाई चेकजाँच नगर्नु भन्ने आदेश दिइसकेको छु,’ उनले भने, ‘चेकजाँच नै नगर्नु भनेपछि प्रहरीले रकम लिने भन्ने कुरा नै हुँदैन ।’
अहिले जमुनाहा नाका भएर दैनिक दुई हजार, पच्चिस सय नेपालीहरू घर फर्किरहेकोले गुन्टा र झोला खोलेर चेकजाँच गर्न समेत सम्भव नहुने एसपी अधिकारी बताउँछन् । ‘धेरै जना घर फर्किरहेकोले सबैका गुन्टा झोला चेक गरेर सम्भव समेत हुँदैन,’ उनले भने, ‘परदेशी बाहेक अन्यहरूलाई मात्र अहिले चेकजाँच भइरहेको हुन्छ ।’
जमुनाहा सीमा क्षेत्रका तीन प्रहरी चौकीमा लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजी मुकुन्द राज आचार्य र बाँके एसपी अधिकारीले आफू अनुकुललाई ईन्चार्ज बनाएर पठाएका छन् । डिआईजी र एसपीको संरक्षणमा सीमा क्षेत्रमा अवैध तस्करी हुनुका साथै भारतबाट घर फर्किनेहरूबाट रकम असुल्ने काम हुँदै आएको बताइन्छ ।
सशस्त्र प्रहरी बल नम्बर ३० गण बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) अशोक बमले अहिलेसम्म त्यस्तो गुनासो नआएको भन्दै त्यस्तो पाइए कारबाही गरिने बताए । ‘त्यहाँ त्यस्तो चाँही नहुनुपर्ने हो,’ उनले भने, ‘हामी अनुगमनमा जाँदा रकम लिएको पाइँदैन । अहिले भइरहेको भए म बुझेर कारबाही प्रक्रिया अगाडि बढाउँछु ।’










प्रतिक्रिया दिनुहोस्