नेपाल भारत सीमा नाका जमुनाहामा भारतीय पर्यटकलाई स्वागत गरिएको छ । पर्यटन दिवसको अवसर पारेर भारतबाट कैलाश मानसरोवर दर्सन गर्नका लागि नेपालगन्ज आएका पर्यटकलाई सीमा नाकामै स्वागत गरिएको हो ।
सोमबार दिउँसो सीमानाको जमुनाहा नाका पुगेर बाँकेका पर्यटन व्यवसायीले भारतीय पर्यटकलाई स्वागत गरेका थिए । भारतको मुम्बई र गुजरातबाट ९ जनाको टोली रुपैडिहा हुँदै नेपालगन्ज प्रवेश गरेको थियो ।
सोही टोलीलाई पर्यटन प्रर्वद्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ, नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स नाटा बाँके (च्याप्टर) अध्यक्ष श्रीराम सिग्देल, होटल सिद्धार्थ भ्यू नेपालगन्जका केशव न्यौपाने, मेरो प्लानेटका प्रबन्ध निर्देशक ओम मिश्र लगायत पर्यटन व्यवसायीले खादा र टिका लगाएर स्वागत गरे ।
उनीहरु नेपालगन्जको तारे होटल सिद्धार्थ भ्यूमा बास बसेर नेपालगन्ज विमानस्थल, हुम्लाको सिमकोट हुँदै हिल्सा नाका भएर कैलास मानसरोवर दर्सन गर्न जाने बताइएको छ । नेपालगन्जको प्रवेशद्धारमै नेपाली पर्यटन व्यवसायीको न्यानो स्वागत पाउँदा भारतीय पर्यटक हर्षित भएका थिए ।
पर्यटन प्रर्बद्धन मञ्चका संयोजक श्रेष्ठले भारतीय पर्यटकका लागि नेपालगन्ज नाका एकदमै सहज र सरल भएको बताए । उक्त नाका भएर बर्षेनी हजारौंको संख्यामा भारतीय पर्यटकहरु मानसरोवर तिर्थयात्रामा जाने गरेको उनले दाबी गरे ।
नाटा बाँकेका अध्यक्ष सिग्देलले भारतीय पर्यटकलाई मात्रै लक्षित गरेर नेपालगन्जमा पर्यटनका गतिविधी सञ्चालन गर्न सकियो भने पर्यटन व्यवसायले धेरै फड्को मार्ने बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्