नेपालगन्जमा बिग्रिएका सीसीटिभी मर्मत थालियो



नेपालगन्ज ।

नेपालगन्ज नगरका विभिन्न क्षेत्रमा रहेका सीसीटिभी क्यामेराहरु मर्मत गर्न थालिएको छ । २०७५ सालमा राँझा चोकदेखि जमुनाहासम्म ५६ वटा सीसीटिभी क्यामेरा जडान गरिएको थियो ।

विभिन्न कारणले बिग्रिएका ती क्यामेराहरु सोमबारदेखि मर्मत गर्न थालिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । भदौं ७ गते त्रिभुवन चोक नजिकै तीव्र गतीमा रहेको मोटरसाईकलको ठक्करबाट साढे दुई वर्षीया नाबालिको ज्यान गएपछि सीसीटिभी मर्मतको आवाज उठेको थियो ।

नगरका चोक चोकमा राखिएका क्यामेराहरु मर्मतको लागि चर्को दवाव परेपछि नेपालगन्ज उप–महानगरपालिका, जिल्ला प्रशासन कार्यालय बाँके र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त पहलमा क्यामेरा मर्मतको काम सुरु भएको हो ।

चोकमा राखिएका क्यामेरा बिग्रिएका कारण अहिलेसम्म नाबालिकाको ज्यान लिने मोटरसाईकल र चालकलाई पहिचान हुन सकेको छैन । ५६ वटा क्यामेरा जडान गरिएकोमा हाल २२ वटा सीसीटिभी क्यामेरा चालू अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुसुदन न्यौपानेले जानकारी दिए ।

‘विभिन्न कारणले चोकमा राखिएका क्यामेराहरु जडान गरिएका थिए’ उनले भने, ‘केही संचालनमा थिए । केही थिएनन्, अहिले ती क्यामेराहरु समेत मर्मतको काम चलिरहेको छ ।’

  • No tags available
प्रकाशित मिति : २०७८ असोज १२ गते मंगलबार