‘दसैंमा व्यापार बढाउन उपहार कार्यक्रम’



शिवु खनाल । दाङ ।

घटेको व्यापार प्रवद्र्धन गर्न दाङको लमहीमा उपहार कार्यक्रमको आयोजना गरिने भएको छ ।

दसैं, तिहार र छठ पर्वको अवसरमा देउखुरी उद्योग बाणिज्य संघ लमहीले देउखुरीकै केन्द्र बिन्दु मानिने पूर्वपश्चिम राजमार्गमा रहेको लमही बजारमा उपहार कार्यक्रम संचालन गर्न लागिएको हो । संघले व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले लमहीमा संचालन गर्न लागेको उपहार कार्यक्रम पहिलो पटक हो ।

सोमबार पत्रकार सम्मेलन गर्दै संघले दसैं, तिहार र छठसम्म उपहार कार्यक्रम संचालन गरिने जनाएको थियो ।

उपहार कार्यक्रममा व्यापारी, विद्यार्थी स्थानीय तथा जिल्ला बाहिरका पर्यटक गरि करिब दुई लाख पचास हजार मानिसले लमही बजारबाट किनमेल गर्ने अनुमान गरिएको छ ।

पैसा कमाउन नभई लमहीका व्यापारीहरुको हितका लागि र पर्यटन, कृषिको आधुनिकीकरणमा टेवा पु¥याउने उद्देश्यले उपहार कार्यक्रमको आयोजना गर्न लागेको देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष खगेश्वर खनालले जानकारी दिए ।

उपहार कार्यक्रमबाट लमही बजार क्षेत्रको व्यापार व्यवसायमा चहलपहल बढ्ने विश्वास व्यक्त गर्दै, अन्य छिमेकी तुलसीपुर, घोराही, भालुवाङ, बाँके, बर्दिया, कपिलबस्तु लगायतका स्थानबाट लमही बजारमा किनमेलको लागि मानिसहरुको भिडभाड बढ्ने बताए ।

यता स्थानीय पवन रिजालले बजारमा मानिसको चहल पहल भएपनि व्यापार नभएको बताउँछन् । ‘कोभिडका कारण व्यापार छैन,’ उनले भने, ‘लमही बजार क्षेत्रको व्यापार आधाले घटेको छ । दसैं, तिहार आउन केही दिन बाँकी रहेको छ ।

उपहार कार्यक्रमले व्यापार बढ्ने विश्वास लिएर बसेका छौैं ।’ उपहार कार्यक्रम यही असोज २६ गतेसम्म चल्नेछ । यस्तै लमहीलाई देउखुरी क्षेत्रकै व्यापारीक क्षेत्रको हब बनाउन उपहार कार्यक्रमलाई अगाडि सारेको देउखुरी उद्योग बाणिज्य संघ लमहीका उपाध्यक्ष केशवराज पोख्रेलले बताए ।

यस्तै संघका महासचिव लेखराज केसीले व्यापक छलफलपछि लमही बजारको व्यापारलाई फरक बनाउने योजना अनुसार उपहार कार्यक्रमलाई अगाडि सारेको जानकारी दिए ।

यसैगरी तीन हजार भन्दा माथीको सामान खरिद गरी सोही पसलबाट उपहार कुपन निःशुल्क प्राप्त गर्न ग्राहकले सक्नेछन् । लक्की ड्र २०७८ असोज २१ गते र कात्तिक १२ गते दिउँसो २ बजे लमहीको गोरघर चोक अगाडि खोलिनुका साथै बम्पर लक्की ड्र २०७८ कात्तिक २६ गते सोही स्थान र समयमा खोलिनेछ ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज १२ गते मंगलबार