कोहलपुर ।
शनिबार राति कोहलपुर नगरपालिका वडा नम्बर–५ एनसीसीएन नजिकै सवारी दुर्घटनामा मृत्यु भएका युवकको शव परिवारले अझै बुझेका छैनन् । लु २ त ४७८४ नम्बरको ट्रयाक्टरले भे ९ प ५६७८ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ कोहलपुर– २ का सन्तोष अधिकारीको मृत्यु भएको थियो ।
दुर्घटनामा परेर अधिकारीले ज्यान गुमाएको तीन दिन बितिसक्दा समेत आफन्तहरुले उचित क्षतीपूर्तीको माग राख्दै शव नबुझेका हुन् । आफन्तहरुले क्षतीपूर्ती नपाउँदासम्म शव नबुझ्ने भन्दै आन्दोलन चर्काएका हुन् ।
उनीहरुले सोमबार दिउँसो दुई घण्टा किरणनाला नजिकै सडक अवरुद्ध पारेर प्रदर्शन समेत गरेका थिए । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार पीडितले बीमाबाट पाउँने पाँच लाख बाहेक थप रकम र छोराछोरीको शिक्षादिक्षाको ग्यारेण्टी हुनुपर्ने माग राखेका छन् । थप रकम र छोराछोरीको शिक्षाको बारेमा कुरा नमिल्दा वार्ता सफल हुन नसकेको बताइएको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रबिन्द्र खनालले पीडित परिवारले कानून अनुसार पाउने रकमको बिषयमा कुरो मिलिसकेको बताए । ‘कानून अनुसार पीडित परिवारले पाउनुपर्ने रकम लगायत विषयमा प्रहरीले सहजीकरण गरिसकेको छ’ उनले भने, ‘कानून बाहिरका विषयमा प्रहरीले समन्वय गर्नमात्र सक्छ ।’
वार्तामा कुरा नमिलेपछि मृतक अधिकारीको शव नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमै रहेको डिएसपी खनालले जानकारी दिए । पीडितहरुले ट्रयाक्टरका मालिकलाई समेत कोहलपुर बोलाउनुपर्ने माग राखेका छन् ।
‘पीडितसँग फोन र भिडियोमा समेत ट्रयाक्टर साहुको कुराकानी गराइसकेका छौं’ डिएसपीले खनालले भने, ‘साहु टाढा विरगंज भएकोले तत्काल आउन सम्भव मात्र नभएको हो । मंगलबार दिउँसोसम्म सकेसम्म कोहलपुर साहु आउँछन् की ?’ दुर्घटना लगत्तै फरार रहेका ट्रयाक्टर चालकलाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरिसकेको छ । ‘चालक र ट्याक्टर नियन्त्रणमा लिएका छौं ।
कानुनबमोजिम कारवाही हुन्छ’ डिएसपी खनालले भने । आफ्ना मागहरु पूरा नभए आन्दोलन चर्काउने मृतककी आफन्त ममता थापाले बताइन् । ‘हामीलाई उचित क्षतीपूर्ती र चालकलाई कानूनअनुसार कारबाही चाहिन्छ’ उनले सोमबारको प्रदर्शनमा भनिन्, ‘हाम्रा मागहरु पूरा नहुँदासम्म शव पनि बुझ्दैनौं र आन्दोलन चर्काउँछौं ।’










प्रतिक्रिया दिनुहोस्