30 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

बोल्दा–बोल्दै कोरोना संक्रमितको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, अशोज ११, २०७८  

नेपालगन्ज ।

बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा आईतबार थप दुई जनाको उपचारकै क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा एक २२ वर्षका युवक र ७२ वर्षीय बृद्ध रहेको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । बाँके कोहलपुर नगरपालिका वडा नम्बर– ५ का २२ वर्षीय युवकको कोरोना संक्रमणबाट ज्यान गएको थियो ।

यही असोज ४ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पीसीआर परीक्षण गराउँदा उनलाई कोरोना पुष्टी भएको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए । त्यसपछि उनी भोलीपल्ट भेरी अस्पतालमा आएर भर्ना भएका थिए ।

तर, संक्रमण पुष्टी भएको पाँच दिनमै २२ वर्षका युवकको मृत्यु भएको उनले बताए । अस्पतालका अनुसार युवकको आईतबार बिहान १ बजेर ३० मिनेटमा मृत्यु भएको थियो । युवकको बोल्दा–बोल्दै मृत्यु भएको हो ।

उनी मृत्युको केहीबार अघिसम्म आफ्ना कुरुवासँग बोलिरहेका थिए । यस्तै बर्दिया, बारबर्दिया नगरपालिका वडा नम्बर– ४ का ७२ वर्षीय पुरुषको पनि कोरोनाले ज्यान गएको छ ।

भेरी अस्पतालमा गत भदौं ३० गते कोरोना पुष्टी भएपछि उनी सोही दिन अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्यमा कुनै सुधार नआएपछि शनिबार राती ९ बजेर ३० मिनेटमा मृत्यु भएको अस्पताललाई उद्धृत गर्दै फोकल पर्सन ओलीले बताए ।

योसँगै कोरोना संक्रमणबाट बाँकेका ३ सय ३४ र बाहिरी जिल्लाबाट उपचारका लागि आएका ४ सय १८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मितिः सोमवार, अशोज ११, २०७८     11:42:39 AM  |