डुबेर एकै गाउँका दुई युवकको मृत्यु



बर्दिया ।

बर्दियाको बारबर्दियामा पौडी खेल्ने क्रममा नहरमा डुबेर दुई युवकको मृत्यु भएको छ । बनगाईस्थित बबई नहरमा पौडी खेल्ने क्रममा डुबेर शनिबार दुई युवकको मृत्यु भएको हो ।

पौडी खेल्ने क्रममा डुबेर मृत्यु हुनेमा बारबर्दिया नगरपालिका वडा नम्बर– ९ का २० वर्षीय विशाल थारु र सोही ठाउँका २१ वर्षीय सुरेश थारु रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) हेमबहादुर शाहीले जानकारी दिए ।

उनीहरु साथीहरुसँगै गाउँ नजिकै रहेको बबई नहरमा पौडी खेल्न गएका थिए ।

पौडी खेल्ने क्रममा दुबैजना डुबेपछि अन्य साथीहरुले गाउँले तथा प्रहरीलाई खबर गरेका थिए । गाउँले र प्रहरी गएर उनीहरुको खोजी गर्दा दुबै जना मृत फेला परेका हुन् ।

मृतक दुबै जनाको शवलाई जिल्ला अस्पताल गुलरियामा पोस्टमार्टम पश्चात आईतबार परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज ११ गते सोमबार