खानेपानी, सरसफाइ र स्वच्छतामा जोड



कोहलपुर ।

बाँकेको बैजनाथ गाउँपालिकाले खानेपानी, सरसफाई र स्वच्छतामा जोड दिइएको छ । खानेपानी, सरसफाई र स्वच्छता विद्यालयमा ‘तीन तारा’ पद्धतिको विषयमा जोड दिइएको हो । सो विषयमा मंगलबार बैजनाथ गाउँपालिकाका जनप्रतिनिधिसंग छलफल गरिएको छ ।

खानेपानी, सरसफाइ तथा स्वच्छता क्षमता अभिवृद्धि रणनीतिक योजना र विद्यालयमा तीन तारा पद्धति जानकारी सम्बन्धी संयुक्त कार्यशाला सम्पन्न भएको हो । कार्यशालामा गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले सरसफाइ र स्वच्छ गाउँपालिका बनाउनको लागि सबैको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिए ।

उनका अनुसार गाउँपालिकाले विभिन्न संघ संस्थाहरूसँग मिलेर समृद्ध गाउँपालिका बनाउनको लागि काम गरिरहेको छ । ‘आज शैक्षिक क्षेत्र गुणस्तरीय भयो भने भोलि समृद्ध गाउँपालिकाका निर्माणका लागि काम लाग्छ । आजका बालबालिकाका भोलिका नेतृत्वकर्ता समेत हुन्,’ उनले भने, ‘त्यसैले हामी सबै मिलेर विद्यालय क्षेत्र सुधारका लागि पहल गर्नुपर्छ ।’

यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर ऐडीले गाउँपालिकाले समृद्ध बैजनाथको कल्पनासहित विभिन्न रणनीतिक योजना निर्माण गरेको बताएका थिए । उनका अनुसार बैजनाथले गाउँपालिकाको समग्र विकासका लागि सरकारी–निजी साझेदारीको नीति अवलम्बन गरेको छ । उक्त अवसरमा खानेपानी, सरसफाइ तथा स्वच्छता क्षमता अभिवृद्धि रणनीतिक योजनाबारे लुमन्तिका कार्यक्रम संयोजक सूर्य कुमार खड्काले प्रस्तुतिकरण गरेका थिए ।

उक्त अवसरमा बोल्दै उनले बैजनाथ गाउँपालिकाका सबै वडा तथा समुदायहरू, विद्यालयहरू, स्वास्थ्य संस्थामा समावेशीको आधारमा खानेपानी, सरसफाइ र स्वच्छताको सेवा प्रवाहमा सुधार ल्याउने र हरियाली वातावरण, सफा स्वच्छ गाउँपालिकाको विकास गर्ने लक्ष्य रहेको
बताए ।

दिगो विकास लक्ष्य कार्यान्वयन परियोजना चरण–२ अन्तर्गत सञ्चालन हुने परियोजनाद्वारा गाउँपालिकाभित्र खानेपानी तथा वातावरणीय सरसफाइ शाखा व्यवस्थापन र प्रभावकारी सेवा प्रवाह गर्ने, क्षमता अभिवृद्धिको रणनीति योजनाको दस्तावेजलाई प्रभावकारी कार्यान्वयनमा लैजाने उद्देश्य रहेको उनको भनाइ छ ।

रणनीतिलाई अन्तिम रुपमा दिएर कार्यान्वयनमा लैजानको लागि जनप्रतिनिधि र सरोकारवासँग व्यापक छलफल हुने बताइएको छ । यसैगरी बैजनाथ गाउँपालिकाको खानेपानी र सरसफाइको अवस्थाका विषयमा जानकारी दिदैं लुमन्तिका इन्जिनियर पुस्कर रावतले बैजनाथमा खानेपानी र सरसफाइको अवस्थामा सन्तोषजनक रहेको बताए ।

उनका अनुसार धेरै कुराहरू अझै पनि सुधार गर्नुपर्नेछ । खानेपानी, सरसफाइ तथा स्वच्छतामा विद्यालय ३ तारा पद्धति बारेमा प्रस्तुतीकरण गर्दै एकिकृत शहरी विकास केन्द्रका कार्यक्रम निर्देशक सुदर्शन राजभण्डारीले विद्यालयमा महिनावारी, स्वच्छता शिक्षा, स्वच्छ वातावरण र दिगोपना, र विपद् जोखिम लगायतका विषयमा अत्यावश्यक रहेकोमा जोड दिए । उक्त कार्यक्रममा विद्यालयका शिक्षक, जनप्रतिनिधि लगायतको सहभागिता थियो । परियोजना बैजनाथका ७ विद्यालयमा सञ्चालन भइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज ६ गते बुधबार