18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

देउसी–भैलोबाट एम्बुलेन्स खरिद

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, अशोज ६, २०७८  

मधूर पौडेल । बर्दिया ।

मानिसहरू अधिकांश आर्थिक जोहो हुनेवित्तिकै मनोरञ्जन या त अन्य फाल्टु काममा खर्च गर्दछन् । अझै भनौं चाडपर्वमा संकलन भएको रकम त भोजभतेरमै सक्छन् ।

तर, कमै मात्र यस्तो हुन्छन्, जसले सामाजिक काममा लगानी गर्छन् र सँधैका लागि सम्झन लायक बनिरहन्छन् । यस्तै, बर्दियाको एक समूहले पनि तिहारमा मनोरञ्जनका लागि खेलिएको–देउसी भैलोमा संकलन भएको रकममा अझै थप गरेर सामाजिक सेवाको काममा लगाएको छ ।

सिर्जनशिल समाज नेपाल बाँसगढीले देउसी–भैलो खेलेर १ लाख र सहयोगी दाताहरुबाट १३ लाख ३२ हजार ५ सय २८ रुपैँया संकलन गरेको थियो । सबै गरेर कुल १४ लाख ३२ हजार ५ सय २८ रुपैयाँ संकलन भएको हो ।

यसअघि समाजको अगुवाईमा २०७५ सालमा देउसी भैलो अभियान सुरु भएको थियो । मंगलबार एक कार्यक्रमकाबीच संकलिन रकम नगरप्रमुख शालिकराम अधिकारी र स्वास्थ्य शाखाका उप–संयोजक घनश्याम केसीलाई रकम हस्तान्त्रण गरिएको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेर चेक हस्तारन्तरण गरिएको समाजका अध्यक्ष झलकराज पौडेलले जानकारी दिए । उक्त कार्यक्रमका नगरप्रमुख अधिकारीले युवाहरूको समाजिक काम, इमान्दारिता, लगनशिलता र मिहेनतबाट निकै प्रभावित भएको बताए ।

बाँसगढी क्षेत्रका सक्रिय युवाहरूको सही निर्णयले पूर्णता पाएको उनको भनाइ थियो । ‘युवाहरूको कार्यप्रति म सुखस् छु । तपाईंहरूको कामप्रति म प्रभावित भएँ । अब बाँकी काममा नगरपालिकाले तपाईंहरूलाई सघाउँछ’, उनले भने । उक्त अवसरमा अधिकारीले छिटो भन्दो छिटो एम्बुलेन्स खरिदको लागि स्वास्थ्य शाखालाई निर्देशन समेत दिए ।

युवाहरूको सहयोगमा खरिद गरिने एम्बुलेन्स सञ्चालन र संरक्षणको जिम्मेवारी नगरपालिकाले लिने उनका भनाइ छ । पहिलोपटक २०७५ सालमा बाँसगढीका केही युवाहरूले समूह बनाएर देउसी–भैलो खेल्ने र त्यसबाट उठेका रकमले एम्बुलेन्स खरिद गर्ने योजना बनाएका थिए । सोही योजना अनुसार नै देउसी–भैलो अभियान सुरु भएको थियो ।

बीचमा रोकिएको अभियान फेरि २०७७ सालमा कोभिड–१९ को बेला एम्बुलेन्स अभियान सुरु भयो । संस्थाका सचिव कृष्ण पौडेल २०७८ सालमा दोश्रो चरणको कोभिड–१९ को बेला सिर्जनशिल समाज नेपाल संस्थालाई आधिकारिता दिइएको बताउँछन् । संस्थाले आधिकारिता पाएसँगै संकलित रकम अभियान पूरा भएको अवसरमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेर रकम हस्तान्त्रण गरिएको उनले जानकारी दिए ।

उक्त अवसरमा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै एम्बुलेन्स खरिदको लागि देउसी भेलोबाट उठेको पैसा र विभिन्न सहयोगी दाता तथा बिदेशमा रहेका युवाहरूको सहयोगमा १४ लाख ३२ हजार ५ सय २८ रुपैयाँ संकलन भएको संस्थाका सह–सचिव अस्मिता पौडेलले जानकारी दिइन् ।

त्यसैगरी खर्चतर्फ १० लाख ८४ हजार २ सय ९० रुपैयाँ र बैंक ब्यालेन्समा ३ लाख ५२ हजार ५ सय  १ रुपैयाँ बचत रहेको पौडेलले बताइन् ।

प्रकाशित मितिः बुधबार, अशोज ६, २०७८     10:46:05 AM  |