24 October 2021  |   आइतवार, कार्तिक ७, २०७८

अमेरिका छिर्न खोज्ने आप्रवासीमाथि घोडा चढेका गार्डको व्यवहारले तरंग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, अशोज ५, २०७८  

एजेन्सी ।

मेक्सिको र अमेरिकाको सीमावर्ती क्षेत्रमा अहिले हजारौं मानिस अमेरिका छिर्न पाइने आशामा जम्मा भएका छन्।

समाचार संस्था रोयटर्सका अनुसार तीमध्ये धेरैजसो क्यारेबियन मुलुक हैटीका छन्।

कोरोना महामारीबीच केही समयअघि भएको राष्ट्रपतिको हत्या र त्यसपछि आएको भूकम्पले गरिब मुलुक हैटीको अवस्था असामान्य बनेको छ। अमेरिका छिर्न पाए भविष्य सुरक्षित हुने ठानेर हैटीका हजारौं मानिस मेक्सिकोको सीमासम्म पुगेका छन्।

मेक्सिकोसँग सीमा जोडिएको अमेरिकाको टेक्सास राज्यको डेल रिओ नजिकै उनीहरूले क्याम्प बनाएर बसेका छन्। उक्त ठाउँमा अमेरिका र मेक्सिकोको सीमा रिओ ग्रान्डी नदीले छुट्याएको छ।

शरणार्थी बन्ने प्रक्रिया सुरू गर्न अमेरिकातिर आएका आप्रवासीहरू अत्यावश्यक सामान किन्न भने मेक्सिकोतिर जानु पर्छ किनकी क्याम्पमा चाहिने कुरा किन्न अमेरिकाको बजार जान पाइँदैन।

मेक्सिकोमा सामान किन्न जान उनीहरू हरेक दिन नदीमा हेलिन्छन्।

गत आइतबार पनि उनीहरू सामान ल्याउन पारि गएका थिए। सामान किनेर फर्किँदासम्म नदीको किनारमा अमेरिकाको बोर्डर प्याट्रोलका गार्डहरू आइसकेका थिए। घोडामा चढेर आएका गार्डले नदीमा हेलिएर आएकालाई उतै मेक्सिकोतिर फर्किनु भने।

आप्रवासीहरूले आफ्ना परिवारका सदस्य पारि क्याम्पमा कुरिरहेको बताउँदै फर्किन मानेनन्। घोडामा चढेका गार्डहरू आप्रवासीलाई रोक्न खोज्थे, उनीहरू नदीबाट बाहिर निस्कन सक्थे।

केहीबेरपछि नदीबाट निस्किएका एक जना आप्रवासीलाई घोडामा चढेका गार्डले टिसर्ट समातेर नियन्त्रणमा लिन खोजे। गार्डबाट उम्कन खोजेका ती व्यक्तिका दुबै हातमा खानेकुरा थियो।

ह्याट लगाएका श्वेत गार्डले अश्वेत आप्रवासीलाई नियन्त्रणमा लिन खोजेको उक्त तस्बिरले अहिले तरंग ल्याएको छ। अमेरिकी गार्डको उक्त व्यवहार अमानवीय भएको भन्दै आलोचना भइरहेको छ।

अमेरिकी राष्ट्रपति कार्यालयले पनि ती गार्डको व्यवहार स्वीकार्न नसकिने खालको बताएको छ। युएस बोर्डर प्याट्रोलका प्रमुखले उक्त घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्।

अमेरिकाले सीमामा आइपुगेका हैटीका आप्रवासीलाई सकेसम्म मेक्सिकोतिरै फर्काइदिने नभए उनीहरूलाई समातेर जहाजमा फिर्ता पठाइदिने गरेको छ।

प्रकाशित मितिः मङ्लबार, अशोज ५, २०७८     10:24:38 AM  |