बुटवल ज्योतिनगरका पहिरो पीडितले बुटवल उपमहानगरका मेयर शिवराज सुवेदीमाथि मुक्का प्रहार गरेका छन् ।
सोमबार पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि पहिरो पीडितले मुक्का प्रहार गरेका हुन् । त्यसपछि थप कुटपिट हुनबाट नेपाल प्रहरी र नगर प्रहरीले मेयरलाई जोगाएका थिए । मेयर सुवेदीलाई मुक्का प्रहार गर्ने युवक नेकपा एमालेकै कार्यकर्ता रहेका छन् ।
एमाले रूपन्देहीका अध्यक्षसमेत रहेका मेयरलाई मुक्का हान्ने युवक गणेश पंगेनी अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी सदस्य हुन् । उनी पहिरो प्रभावित क्षेत्र बुटवल–३ ज्योतिनगरका बासिन्दा समेत रहेका छन् ।
पहिरोले ज्योतिनगरवासी विस्थापित र असुरक्षित हुँदा स्थानीय सरकारले चासो नदिएकाले आक्रोशित भएर उनले मुक्का हानेको बताएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
मुक्का प्रहार गर्ने पंगेनी लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा अध्ययनरत रहेको बताइएको छ ।
गत भदौ १३ र १४ गते अविरल वर्षासँगै खसेको पहिरोले ज्योतिनगरका १० घर पुरिएका थिए भने ५० बढी घर उच्च जोखिममा परेका थिए । पहिरोले अम्मर विक, सीता थकाली, तुल्सा सुवेदी, यमबहादुर पुन, मन कुमारी शर्मा, इश्वरा पाण्डे र रोशन राणाको घर पुरेको थियो ।
पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने सडकमा क्षति पु¥याउनुका साथै त्यहाँ रहेको बिजुलीको पोल पनि बगाएको थियो । २०५६ सालमा पनि लक्ष्मीनगर र ज्योतिनगरमा पहिरो खस्दा ५० भन्दा बढी घर विस्थापित भएका थिए ।










प्रतिक्रिया दिनुहोस्