नेपालगन्ज ।
भारतबाट भन्सार छली गरेर ल्याउँदै गरेका सामानहरू सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरीको नेपालगन्ज भन्सारस्थित जमुनाहा बिओपीका ईन्चार्ज सशस्त्र प्रहरी निरीक्षक जिबनलाल बुढाको नेतृत्वमा गएको गस्ती टोलीले अवैध सामान बरामद गरेको हो ।
बरामद गरिएका सामानहरूमा लत्ताकपडा एवम् किराना सामान रहेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका– १५ जमुनाहा गाउँ नजिकै इलाका प्रहरी कार्यालय जमुनाहादेखि पूर्वतिरबाट सशस्त्रले एक लाख ४५ हजार बढीको सामान बरामद गरेको थियो ।
भारतबाट ठूलो परिमाणमा कपडा आइरहेको सूचना पाएपछि पुगेको सशस्त्र प्रहरीको टोलीले विभिन्न सामानहरू बरामद गरेको हो ।
बरामद भएका सबै सामानहरूलाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जनाएको छ । तस्करहरू भने सशस्त्र प्रहरीलाई देख्नेवित्तिकै सामानहरू छोडेर भारततर्फ नै भागेको जनाइएको छ ।
यस्तै जिल्ला प्रहरी कार्यालय बाँकेले समेत भन्सार चोरी पैठारी गर्दै ल्याउँदै गरेको अवस्थामा विभिन्न सामानहरू बरामद गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– १० बाट प्रहरीले भारतबाट भन्सार छली गरेर ल्याएका ७६ हजार ४७५ रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिइएका सामानहरूमा लत्ता कपडा, चिनी, बिउविजन, सिसाको गिलास लगायतका विभिन्न सामानहरू रहेका छन् । बरामद सामान आवश्यक कारबाहीको लागि भन्सार कार्यालय नेपालगन्जमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्