जिल्ला प्रहरी कार्यालय बर्दियाले फरक फरक मुद्दामा फरार रहेका दुई प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतले विभिन्न मितिमा कैद फैसला सुनाएका दुई जनालाई प्रहरीले पक्राउ गरेको अदालतमा बुझाएको हो ।
पक्राउ पर्नेमा गुलरिया नगरपालिका वडा नम्बर– ८ का गोबिन्द थारु र मधुबन नगरपालिका वडा नम्बर– २ रजवाराका किशोर दर्लामी रहेको बर्दिया प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) हेमबहादुर शाहीले जानकारी दिए ।
उनका अनुसार थारुलाई बर्दिया जिल्ला अदालत गुलरियाले २०७६ माघ २४ गते लेनदेन मुद्दामा १ वर्ष ६ महिना २६ दिन कैदको फैसला गरेको थियो । अदालतको फैसला लगत्तै फरार रहेका थारुलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको टोलीले लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
यस्तै दर्लामीलाई बर्दिया जिल्ला अदालत गुलरियाको २०७८ बैशाख २८ गते बहु–विवाह मुद्दामा १० महिना २९ दिन कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।
सोही बेलादेखि नै फरार रहेका दर्लामीलाई लुकिछिपी बसेको अवस्थामा ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका दुबै जनालाई आवश्यक कारबाहीका लागि बर्दिया जिल्ला अदालत गुलरिया बुझाईएको डिएसपी शाहीले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्