कांग्रेस वडा अधिवेशन: बाँकेको अधिवेशन अझै अन्योल



कोहलपुर ।

आशन्न १४ औं महाधिवेशनका लागि सत्तारुढ नेपाली कांग्रेसको वडा अधिवेशन देशैभर चल्दैछ । पहिलो चरणमा सदस्यता विवाद टुंगिएपछि ५७ जिल्लामा वडा अधिवेशन भइसकेको छ ।

बाँकी रहेका २० जिल्लामध्ये पनि कांग्रेसको सदस्यता छानबिन समितिले सात जिल्लाको सूची सार्वजनिक गरिसकेको छ । असोज ५ गते आज वडा अधिवेशनका लागि अन्तिम डेटलाइन थियो । तर, यो अवधिमा पनि सात जिल्लाको मात्रै अधिवेशन हुने भएको छ । बाँकेसहित १३ जिल्लाको वडा अधिवेशनको अझै टुंगो लागेको छैन ।

यस्तै आज (मंगलबार) सात जिल्लामा अधिवेशन हुँदैछ । आज बर्दिया, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, बाजुरा, कपिलवस्तु र मोरङमा वडा अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

पार्टीले २० जिल्लाको वडा अधिवेशन यही असोज ५ गते एकै दिन हुने गरी कार्यतालिका निर्धारण गरेको थियो । बाँकी १३ जिल्लाको क्रियाशील सदस्यता विवरण समयमै समितिलाई प्राप्त हुन नसकेका कारण ती जिल्लामा भने वडा अधिवेशन निर्धारित समयमा नहुने देखिएको हो ।

कांग्रेसको वडा अधिवेशन गत भदौ १८ गतेदेखि प्रारम्भ भएको हो । प्रदेश नं २ का आठ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही, बाँके र कैलाली गरी १३ जिल्लाको क्रियाशील सदस्यता विवरण प्राप्त भएसँगै समय तोकेर अधिवेशन हुँदै जाने समिति सदस्य एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

करिब नौ लाखको संख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफ्नो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधि चयन गर्छन् ।

बाँकेमा भने भदौ २१ गतेसम्म टुंग्याउने तयारी गरिएको थियो । तर, सोमबारसम्म समेत अझै सदस्यता विवाद टुंग्याइएको छैन । मनपरी सदस्यता पठाएका कारण पनि अधिवेशनका लागि अन्तिम नामवली प्रकाशनमा समस्या भएको कांग्रेस बाँकेकी सभापति किरण कोइरालाले बताइन् । सोमबार नै सदस्यता विवाद टुंगिएको भनिए पनि नामावली भने सार्वजनिक भएन ।

जसका कारण असोज ५ गतेलाई अन्तिम डेटलाइन तोकिए पनि बाँकेसहित १३ जिल्लाको वडा अधिवेशन अन्योलमा परेको छ । विगतमा कांग्रेसमा मिसिन आएका अखण्ड नेपाल, विजय गच्छदार र सुनिल थापाको राप्रपाका सदस्यता विवादका कारण पनि बाँकेमा विवाद निम्तिएको हो । वडाबाट निर्णय नै नगरी सदस्यता पठाइएका कारण पनि विवाद टुंगो लाग्न नसकेको सभापति कोइराला बताउँछिन् ।

उनले केन्द्रबाट निर्णय नहुँदासम्म जिल्लामा केही भन्न नसकिने बताइन् । ‘हामीले कहिले अन्तिम टुंगो लाग्छ भनेर कसरी भन्नु । अब अन्तिम डेटलाइनमा त नहुने भइसक्यो । माथिबाट टुंगो लगाइए मात्रै हामी भन्न सक्छौं’, उनले भनिन् । यदि असोज ९ गतेसम्म वडा अधिवेशन भएन भने गाउँ तथा नगरपालिकाको अधिवेशनमा प्रभाव पर्ने देखिन्छ । कांग्रेसले ९ गतेदेखि देशभरका गाउँ तथा नगरपालिकाको अधिवेशन तोकिसकेको छ ।

बाँकी रहेका जिल्लाको विवाद छिट्टै टुंग्याएर अधिवेशन गर्ने तयारी गर्दा पनि संस्थापन र अर्को पक्षबीच सहमति नजुट्दा समस्या भएको छ । कांग्रेसले महाधिवेशनअन्तर्गत गाउँ/नगरपालिका अधिवेशन यही असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते निर्धारण गरेको छ ।

त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज ५ गते मंगलबार