कृष्ण ओली । कोहलपुर ।
चाडपर्व नजिकिँदै गर्दा चोर तथा लुटेराहरू सक्रिय हुन्छन् । विशेषगरी रातिमा यात्रा गर्ने यात्रीका लागि जोखिम नै हुन्छ । यस्तै पछिल्लो समय दशैं नजिकिएसँगै राजमार्ग क्षेत्रमा लुटेराहरूको बिगबिगी बडेको छ ।
रातिको समयमा बाँकेका राजमार्ग भएर गुड्ने सवारी साधनलाई विभिन्न समूहहरूले दुःख दिन थालेका छन् ।
दसैं, तिहार नजिकिँदै जाँदा राजमार्ग भएर गुड्ने सवारी साधनबाट रकम असुल्नका लागि विभिन्न समूहहरू संक्रिय भएका हुन् । खासगरी पूर्व पश्चिम र रत्न राजमार्गमा चल्ने सवारी साधनहरू उनीहरूको मुख्य निशानामा पर्ने गरेका छन् ।
सोमबार बिहान करिब १ बजेको समयमा कोहलपुर नगरपालिका– ३ मैटहवाको मोडमा ट्रक तथा अन्य सवारी साधनबाट रकम असुली गरिएको थियो । तीन जनाको समूहमा रहेका युवाहरूको समूहले मध्यरातमा सो क्षेत्रमा प्रहरी भन्दै सवारी साधनबाट रकम असुलेका
थिए ।
रातिको समयमा सवारी चलाउँदा विभिन्न समूहले राजमार्गमा दुःख दिने गरेको ट्रक चालक मुनबहादुर थापाले गुनासो गरे । कैलाली जाँदै गरेका उनलाईसमेत मैटहवाको मोडमा युवाहरूको समूहले रोकेर रकम माग गरेका थिए ।
‘मैटहवाको मोडमा सुरुमा एक जनाले रोक्नको लागि हात दिए । रातिको समयमा डर हुने भएकाले नरोकेर ट्रक अगाडि बढाएँ’ उनले मिसन टुडेसँग टेलिफोन संवादमा भने, ‘ट्रक नरोकेपछि दुई बाइकमा आएर जबरजस्ती एक किलोमिटर अगाडि तीन युवाले गाडीलाई रोके ।’
ट्रक रोकिएपछि युवाहरू आएर ट्रकको ढोकामा हानेको चालक थापाले बताए । आफुहरू सीआईडी प्रहरी भएको भन्दै चेकिङमा किन नरोकेको भन्दै अपशब्द बोल्दै गाली समेत गरेको उनी बताउँछन् ।
तीन युवाले चालकबाट ट्रकमा के सामानहरू छ भनेर चलानी समेत मागेका थिए । ‘चलानी लिएपछि उनीहरूले पाँच हजार रुपैयाँ जरिवाना चाहियो भनेर रकम मागेका थिए,’ चालक थापाले भने, ‘पछि आफूसँग पाँच रुपैयाँ मात्र रहेको बताएपछि त्यही पाँच रुपैयाँ समेत लगे ।’
युवाहरूले चलानी च्यातेर मात्र चालकलाई दिएका थिए । पश्चिमबाट पूर्वतिर गइरहेको कुखुरा बोकेको जीपलाईसमेत सोही समूहले रोकेर रकम मागेको ट्रकका चालक थापाले बताए । ‘मलाई छोडेपछि कुखुरा बोकेको जीपलाई रोकेर रकम मागिरहेका थिए,’ उनले थपे, ‘त्यसपछि म त्यहाँबाट अगाडि हिँडिहाले पछि के भयो थाह भएन ।’
उनले अगाडि सम्झना चोकमा रहेको प्रहरी चौकीमा गएर घटनाबारे जानकारी गराएका थिए । उनले घटनामा संग्लन रहेका दुई मोटरसाईकलमध्ये एउटाको नम्बर प्रहरीलाई टिपाए ।
घटनाबारे जानकारी पाएलगत्तै सो क्षेत्रमा रहेका प्रहरी युटिहरूले सर्च अभियान चलाए पनि उक्त समूह फेला परेन । सो क्षेत्रमा त्यसभन्दा अघि समेत सवारी साधन रोकेर रकम असुल्ने गरेको सूचना आएको स्थानीय प्रहरी स्रोतले जनाएको छ ।
राजमार्गमा प्रहरीको कमजोर उपस्थिति देखेर युवाहरूको समूहले रातको समयमा सवारी रोकेर रकम माग्ने गरेको सवारी चालक बताउँछन् । ‘यो त हाम्रो लागि सामान्य भइसक्यो,’ रातमा सवारी चलाउने एक चालकले भने, ‘पैसा नदिए कुटपिट गर्छन् । मागेजति पैसा दिनैपर्छ । प्रहरीलाई भन्दासमेत खासै मतलब गर्दैन ।’
यसबारे बुझ्न खोज्दा ईलाका प्रहरी कार्यालय कोहलपुरका मुद्दा फाँटका ईन्चार्ज प्रहरी निरीक्षक होम प्रकाश चौधरीले बुझेपछि कल गर्ने भने पनि फोन गरेनन् ।
‘म बाहिर छु, यसबारे केही थाहा भएन,’ उनले भने, ‘एकछिनमा बुझेर कलब्याक गर्छु ।’ यता जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुसुदन न्यौपानेले राजमार्गमा सुरक्षा अलि बलियो बनाउने की भन्नेबारे छलफल भइरहेको बताए ।
‘सोमबार सिडिओ कार्यालयमा भएको एउटा बैठकमा समेत यो विषयमा कुरा उठेको थियो,’ उनले भने, ‘दसैं तिहार लगायतका पर्वहरू नजिकिँदै गर्दा राजमार्गमा सुरक्षा बढाउने कुरा भयो ।’ बेलाबेलामा राति यात्रा गर्ने यात्रुहरु लुटिने गरेका छन् । तर, प्रहरीले यसबारे सुरक्षा निगरानी भने बलियो बनाउन सकेको छैन । प्रहरी नबस्ने क्षेत्रलाई मध्यनजर गर्दै लुटेराहरुले सवारी साधनमाथि टार्गेट गर्ने गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्