संविधान दिवसको अवसरमा सरकारले ९०३ जनालाई सम्मान गरेको छ । दिवसको अवसरमा देश र जनताका लागि उल्लेखनीय कार्य गरेको व्यक्तिलाई विभूषणद्वारा सरकारले सम्मान गरेको हो । विभिन्न विधामा उत्कृष्ट कार्य गरेबापत प्रदान गरिएको मानपदवी, अलंकार र विभूषणबाट बाँकेबाट जम्मा १४ जना विभूषित भएका छन् ।
ती मध्ये संघीय सरकारबाट आठ जना र लुम्बिनी प्रदेश सरकारबाट ६ जना सम्मानित भएका हुन् । विभूषित हुनेमा राजनीतिकर्मी, स्वास्थ्यकर्मी, समाजसेवी, शहीददेखि मौरीपालक कृषकसम्म छन् । विभिन्न मानपदवी र विभूषणबाट सम्मानित हुनेमध्ये स्वास्थ्यकर्मी बढी रहेका छन् । सरकारले बाँकेका पुराना कम्युनिष्ट नेता तिलक परियारलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री’ सम्मान प्रदान गरेको छ ।
नेकपा माओवादी केन्द्रका नेता परियारलाई सामाजिक अभियान्ता-राजनीतिर्मीका रुपमा सम्मान गरिएको हो । प्रदेश २ का दोस्रो तथा पूर्व प्रदेश प्रमुखसमेत रहिसकेका परियार रोल्पाको लिबाङमा जन्मिएका हुन् ।
भारतबाट नेपाल आएपछि बाँकेमै बसाई–सराई गरेका परियार जनयुद्धको बेला बाँके वरपर नै खटेका थिए । परियार माओवादीनिकट दलित मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष तथा माओवादीका केन्द्रीय सल्लाहकारसमेत रहिसकेका व्यक्ति हुन् । २०६४ को पहिलो संविधानसभा चुनावमा बाँके क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।
उनी अन्तरिम व्यवस्थापिकाको सदस्यसमेत हुन् । विचारमा प्रतिबद्ध र सरल व्यवहारका धनी परियार कम्युनिष्ट आन्दोलनको ‘सिनियर लिडर’ मानिन्छन् । शिक्षक हुँदै कम्युनिष्ट पार्टीमा लागेका परियार डा.बाबुराम भट्टराईलाई पार्टी सदस्यता दिने मध्येमा पर्छन् । यस्तै, सरकारले सुकीर्तिमय राष्ट्रदीपबाट बाँकेका स्व.कृष्णसिंह परियारलाई समेत सम्मान गरेको छ ।
स्व.परियारलाई सामाजिक अगुवा÷राजनीतिकर्मीका रुपमा मरणोपरान्त सम्मान गरिएको हो । परियार नेपालका जननिर्वाचित पहिलो दलित सांसद हुन् । २०४८ सालको निर्वाचनमा बाँकेको क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । परियारले त्यतिबेला राज्य व्यवस्था समितिको सभापति समेत बनेर काम गरे । उनको वि.स.२००६ सालमा निम्न वर्गीय दलित किसान परियारमा जन्म भएको थियो ।
उनले २०२९ सालबाट औपचारिक रुपमा राजनीति सुरु गरेका हुन् । २०३४ सालमा तत्कालीन प्रतिबन्धित नेपाली कांग्रेसको जिल्ला कार्य समिति सदस्य भए । पछि २०४२ मा बाँके जिल्ला सचिवका रुपमा जनताको सेवा गरे । बाँके जिल्लामा नेपाली कांग्रेसको जिल्ला सचिवसम्म पुग्ने उनी पहिलो दलित नेता हुन् ।
परियारको २०७८ असार ५ गते आफ्नै निवासमा ७६ वर्षको उमेरमा निधन भएका थियो । सरकारले भेरी अस्पतालमा कार्यरत तीन जनालाई स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ । ‘सुप्रबल जनसेवाश्री’ बाट भेरी अस्पताल बाँकेमा कार्यरत प्रमुख कन्सलटेन्ट फिजिसियन ‐एघारौँ तह) डा. राजन पाण्डे सम्मानित भएका हुन् । यसअघि डाक्टर पाण्डेले २०७३ सालमा ‘प्रवल जनसेवाश्री’ पदक प्राप्त गरेका थिए ।
स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान गरेबापत डा. पाण्डेलाई सरकारले दोस्रोपटक पदक प्रदान गरेको हो । यस क्षेत्रको स्वास्थ्य अवस्था सुधारमा डा. पाण्डेको महत्वपूर्ण योगदान छ । यस्तै भेरी अस्पताल बाँकेका वरिष्ठ ल्याव टेक्निसियन ‐छेठौं) प्रसन्न श्रेष्ठ र नरहरिनाथ–४ कालिकोट, हाल भेरी अस्पताल बाँकेको कोभिड वार्डमा कार्यरत स्टाफ नर्स सुनिता सहकारी ‘जनसेवा श्री’ पदक बाट सम्मानित भएका हुन् ।
यसैगरी स्वास्थ्य कार्यालय बाँकेका वरिष्ठ जनस्वास्थ्य अधिकृत (दशौ) धिरजंग शाह ‘प्रवल जनसेवाश्री’ पदकबाट सम्मानित भएका छन् । सरकारले कोहलपुर नगरपालिका वडा नम्बर ११ बाँकेका मौरीपालक कृषक पुरमल बस्नेतलाई ‘समाज सेवा रत्न’बाट सम्मानित गरेको छ ।
उनी लामो समयदेखि पुत्का मौरीको संरक्षण र अनुसन्धानमा सक्रिय छन् । साहित्यकारसमेत रहेका बस्नेतले पुत्का मौरीको व्यवसायिक पालन गरिरहेका छन् । नेपालगन्जका समाजसेवी दामोदर आचार्यलाई समेत ‘प्रवल जनसेवाश्री’ पदकबाट सम्मान गरिएको हो ।
स्वास्थ्यकर्मीदेखि शहीदलाई प्रदेश पदक
लुम्बिनी प्रदेश सरकारले समेत संविधान दिवसको अवसरमा विभिन्न पदकबाट बाँकेका ६ जनालाई सम्मान गरेको हो । मधेश आन्दोलतका शहीद, एकल महिलादेखि स्वास्थ्यकर्मीसम्मलाई प्रदेश सरकारले विभिन्न पदबाट सम्मान गरेको छ ।
पदक पाउनेमा नेपालगन्ज मेडिकल कलेज नेपालगन्जका फिजिसियन डा.असिम किदवाई र नेपालगन्ज मेडिकल कलेज कोहलपुरकी स्त्रीरोग विशेषज्ञ डा.कविता सिंहा र भेरी अस्पताल बाँकेमा कार्यरत देवा जिसी छन् । डा. कवितालाई काठमाडौं बाहिर पहिलोपटक कोभिड संक्रमित प्रसूतिको शल्यक्रिया गरेको र डा.असिमलाई प्लाज्मा थेरापी विधिबाट कोभिड–१९ संक्रमित बिरामीहरुको उपचार गरेको भन्दै ‘समाज सेवाश्री’ प्रदान गरिएको हो ।
भेरी अस्पतालको सेवामा रही कोभिड बिरामीको उपचारमा संलग्न देवालाई ‘प्रदेश सेवा समर्पण पदक’बाट विभूषित गरिएको छ । एकल महिलालाई शसक्तिकरण गरी सम्मानपूर्ण जीवनयापन गर्न विशेष योगदान दिने बाँकेकी शोभा विसीलाई ‘प्रजापति गौतमी पदक’बाट सम्मान गरिएको हो ।
यसैगरी २०६३ चैत्र १४ गते मधेश आन्दोलनको क्रममा नेपालगन्जमा शहीद माता प्रसाद कुर्मी र २०६३ फागनु ५ गते संघीयता प्राप्तिको लागि भएको मधेश अन्दोलनको क्रममा नेपालगन्जमा शहीद भएका गलु जार खानले ‘प्रदेश प्रमख जनसेवा पदक’ पाएका हुन् ।










प्रतिक्रिया दिनुहोस्