खसी चोर्न सुर्खेतबाट कोहलपुर !



कोहलपुर ।

चोर्नका लागि न कुनै भौगोलिक दूरीले फरक पर्छ न अन्य चुनौतीहरू ! सानो वस्तु चोरीका लागि पनि चोरहरु कोशौं दूरीसम्म पुग्छन् । बाँकेमा यस्तै घटना भएको छ । जहाँ एउटा खसी चोर्नकै लागि चोरहरु एक जिल्लाबाट अर्को जिल्लासम्म पुगेको पाइएको छ ।

सुर्खेतबाट खसी चोर्न कोहलपुर पुगेका दुई युवा पक्राउ परेका छन् । कोहलपुरबाट चोरी भएको एउटा खसीसहित ईलाका प्रहरी कार्यालय कोहलपुरले दुई युवालाई पक्राउ गरेको हो ।

चोरीको एउटा खसीसहित पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नम्बर–४ का २३ वर्षीय कमल पाण्डे र सोही ठाउँका १९ वर्षीय एकेन्द्र गिरी रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रबिन्द्र खनालले जानकारी दिए ।

सुर्खेतबाट खसी चोर्नको लागि कोहलपुर पुगेका दुई युवा कोहलपुरमा पक्राउ परेका छन्’ उनले भने, ‘कोहलपुरबाटै चोरी भएको खसीसहित उनीहरु पक्राउ परेका हुन् ।’

बिहीबार कोहलपुर नगरपालिका वडा नम्बर– ६ बिद्यानगरका निरक बहादुर शाहीको घरबाटै दिउँसो एउटा खसी हराएको थियो । घरकै बराण्डमा बाँधेको अवस्थामा हराएको अन्दाजी ३५ किलोको खसी पक्राउ परेका दुई युवाले चोरी गरेर कोहलपुर–१३ को भरैयामा पु¥याएको अवस्थामा फेला परेको हो ।

चोरी भएको खसीसहित पाण्डे र गिरीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । बिद्यानगरबाट खसी चोरी गरेर कसरी भरैयासम्म पु¥याए भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

कोहलपुरमा पटके चोरीका घटना भइरहेका बेला सुर्खेतबाट खसी चोर्नकै लागि कोहलपुर आएको पाइएपछि प्रहरी समेत झस्किएको छ । ‘दशै नजिकिदै जाँदा खसी बोका चोरीका घटना बढ्नसक्ने भएकाले हामी अलर्ट भएका छौं’ कोहलपुर प्रहरी स्रोतले भन्यो, ‘नभन्दै खसी चोरीका घटनामा समेत युवाहरुको समूह संग्लन रहेको देखियो ।’

पाण्डे र गिरीले कोहलपुरका अन्य क्षेत्रमा समेत कसैका खसी बोका चोरी गरेका छन् भनेर अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । पक्राउ परेका दुबै जनालाई हिरासतमा लिएर थप अनुसन्धान अगाडि बढाइएको कोहलपुर प्रहरीले जानकारी दिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज ३ गते आइतबार