कर्मचारी कुट्नेलाई कारबाहीको माग



कोहलपुर ।

कार्यकक्षमै कर्मचारी कुट्ने कोहलपुर नगर स्वास्थ्य शाखाका प्रमुखलाई कारबाही गर्न माग गरिएको छ । औषधि खरिद्को विषयमा विवाद हुँदा आफू मातहतका कर्मचारीलाई कुट्ने कोहलपुर नगर स्वास्थ्य शाखाका निमित्त प्रमुख अनिल सेन ठकुरीलाई कारबाहीको माग गरिएको गरिएको हो ।

कार्यकक्षमै कर्मचारीलाई लात्तिले हान्नेदेखि मुक्का प्रहार गर्ने सेनमाथि विभिन्न स्वास्थ्यकर्मीका संघ संगठनले कारबाहीको माग गरेका हुन् । सेनले शुक्रबार कोहलपुर नगरपालिकाका कोरोना फोकल पर्सन समेत रहेका गेहराज खनाललाई कुटेका थिए ।

शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल बाँके र नेपाल स्वास्थ्य प्राविधिक संघ बाँकेले सेनले राष्ट्र सेवक कर्मचारीप्रती सांघातिक आक्रमण र हातपात गरी घाईते बनाएको घटनाप्रती गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

संघका सदस्य समेत रहेका कोहलपुर स्वास्थ्य शाखामा कार्यरत सिनियर अहेव गेहराज खनाललाई कोभिड–१९ को औषधि खरिद् सामग्रीको विषयमा जानकारी माग्दा कार्यालय परिसरमा कुटपिट हुनु निन्दनीय भएको बताइएको हो ।

विज्ञप्तिमा कार्यसम्पादनका दौरानमा कुनै विवाद, असहमति,अस्पष्टता भए आपसी सल्लाह, सहमति र समझदारीबाट सम्पादन गर्नुपर्ने विकल्प हुँदाहुँदै कर्मचारीलाई कुटपिट गरिनु अराजक कार्य भएको उल्लेख गरिएको छ ।

यस्ता अराजक गतिविधिले कर्मचारीलाई काम गर्ने वातावरण सिर्जना नहुने पनि स्पष्ट पारिएको छ । यसैगरी त्यसरी हुन नसकेमा आफू भन्दा ठूलो तह निकायको राय, सुझावबाट समस्या समाधान गर्नुपर्ने र नभएमा कानूनी बाटो विकल्प हुँदाहुँदै कार्यस्थलमा कुटपिट र हातपातमा उत्रने घृणित कार्यको निन्दा समेत गरिएको छ ।

यस प्रकारको असभ्य, अभद्र घटना घटनाको खेद प्रकट गर्दै घटनामा संलग्न दोषी उपर कारबाहीको लागि जोडदार माग गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज ३ गते आइतबार