बर्दियामा बँदेललाई थापेको विद्युतीय पासोमा परेर एकैघरका ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
जंगली बँदेललाई धपाउन थापेको पासोमा परेर ठाकुरबाबा नगरपालिका–३ गोदानागाउँमा एकै घरका ३२ वर्षीय बालकृष्ण थारु, उनकी श्रीमती २९ वर्षीया सुनिता थारु र भाउजु ४३ वर्षीया बेलमती थारुको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय भुरिगाउँका अनुसार उनीहरु तीनै जना शुक्रवार राती करिव ९ बजेतिर घर नजिकैको खेतमा लगाईएको धानमा पानी हाल्न गएका थिए ।
पानी हाल्न गएकाहरु धेरै अबेरसम्म घर नआएपछि परिवारका सदस्यले खोजी गर्दा बेलमतीको शव खेतको डिलमा र अन्य २ जनाको शव कुलोको पानीले बगाएर अलीपर लगेको अवस्थामा फेला परेको मृतक बालकृष्णका भाई राजु थारुले जानकारी दिए ।
‘खेतमा पानी हाल्न गएका दाजु भाउजु धेरै बेरसम्म घर नफर्केपछि खोज्दै जाँदा तीनै जनाको शव करेन्ट लागेको अवस्थामा खेतमा भेटिएको थियो’ उनले भने । धान खेतमा विद्युतीय तारको पासो लगाएको संकेत प्रष्ट देखिएको स्थानियबासीहरुले बताएका छन् ।
खेतमा विद्युतीय पासो थापेको आरोपमा प्रहरीले मृतकका छिमेकी ८२ वर्षीय राजबहादुर शाहीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय भुरिगाउँका ईन्चार्ज प्रहरी निरीक्षक कविराज रोकायले जानकारी दिए । स्थानीय प्रहरीका अनुसार शाहीले बँदेल धपाउन आफ्नो खेतमा विद्युतीय पासो लगाएका थिए । छिमेकी शाही र मृतकहरुको खेत जोडिएको छ ।
बँदेल धपाउनका लागि आफुले धान खेतमा थापेको विद्युतीय पासोमा परेर छिमेकीको ज्यान गएको थाहा पाएलगत्तै खेतमा विद्युतप्रवाह गरेका शाही आफैले मृतकको घरपरिवारमा जानकारी गराएको स्थानियबासीले जानकारी दिए ।
मान्छेको ज्यानै जाने गरी धान खेतमा विद्युतीय पासो लगाएर शाहीले गम्भीर अपराध गरेको मृतककी भाईबुहारी पवित्रा थारुले बताइन् । घटनापछि मृतकको परिवारजन शोकमा डुबेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी प्रहरी निरीक्षक रोकायले बताए ।
ठाकुरबाबा नगरपालिका क्षेत्रमा धान बालीमा जंगली हात्ती, बँदेल लगायतका वन्यजन्तुले क्षति पुर्याउन थालेको भन्दै स्थानियले खेतमा थापेको विद्युतीय पासोमा परि यसअघि २ वटा जंगली हात्ती र १ जना युवाको ज्यान गएको थियो ।










प्रतिक्रिया दिनुहोस्