विपन्नको उपचारमा नेपालगन्ज उपमहानगरको पहल: निःशुल्क उपचारका लागि लाइफलाइनसँग सहकार्य



नेपालगन्ज ।

भौतिक विकास मात्रै होइन, चेतना र राज्यका अन्य सेवा सुविधाबाट पनि वञ्चित छ पश्चिम नेपाल । न यहाँ पर्याप्त मात्रामा गुणस्तरीय शैक्षिक संस्थाहरु छन् न अस्पताल नै ।

चेतनाको विकासबाट त यहाँका नागरिक पछाडि छन् नै संविधानले सुरक्षित गरेको स्वास्थ्यको हकबाट पनि वञ्चित छन् । आर्थिक पक्ष बलियो भएकाहरुले पनि यहाँ स्तरीय उपचार पाउँदैनन् ।

विपन्न नागरिक, जसले बिहान–बेलुकाको खानासमेत कहाँबाट जुटाउने भन्ने पिरालोमा बाँचिरहेका बेला स्तरीय उपचारको कुरा छ दिवा सपना जस्तै हो । सरकारी तर्फबाट स्वास्थ्य संस्थाहरु नभएका भने होइनन् तर, त्यहाँ न जनशक्ति व्यवस्थापन न स्तरीय उपचार सेवा नै । अहिले जनताको नजिक स्थानीय सरकार छन् । उनीहरुले नागरिकका लागि सोच्नुपर्ने पहिलो दायित्व हो ।

तर, केही प्रयास भने अवश्य गरेका छन् । यस्तै, नेपालगन्ज उपमहानगरपालिकाले पनि आफ्नो नागरिकको उपचारमा सुलभ पहुँच पु¥याउन कोशिस गरिरहेको छ । आर्थिक रकम अभावका कारण विपन्नहरु अहिले पनि अस्पतालको गेटसम्म पुग्न पनि शरीर कमाउँछन् ।

यही समस्यालाई मध्यनजर गर्दै समाधानका लागि निजी अस्पतालसँग नेपालगन्ज उपमहानगरपालिकाले विपन्न तथा गरिबका लागि निःशुल्क उपचारको व्यवस्था मिलाउने प्रयास थालेको छ ।

शनिबारदेखि नेपालगन्जमा लाइफलाइन जनरल हस्पिटल प्रालि सञ्चालनमा आएको छ । सदरलाइस्थित सञ्चालनमा आएको उक्त अस्पतालमा अब विपन्न नागरिकले निःशुल्क उपचार पाउनेछन् । अस्पताल सञ्चालनमा आएसँगै नयाँ अभियान पनि थालिएको छ । उपमहानगरपालिकासँग मिलेर अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत हप्ताको कम्तिमा एक दिन भए पनि विपन्न नागरिकको उपचार निःशुल्क गर्ने घोषणा गरेको छ ।

शनिबार उक्त अस्पतालको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणा, डा. गोपाल श्रेष्ठले शुभारम्भ गरेका छन् । शनिबार नै उपमहानगरपालिकाको सहकार्यमा हरेक शनिबार निःशुल्क जाँच तथा परामर्श सेवासमेत सुरु गरिएको छ । सर्वसाधारणले उक्त सेवा हरेक शनिबार विहान १० बजेदेखि दिउँसो १ बजेसम्म उपभोग गर्न सक्नेछन् ।

आवश्यक परेमा अन्य बार पनि त्यस्ता बिरामीलाई हेर्न सकिने अस्पतालले जनाएको छ । फिजिशियन डा. पारश श्रेष्ठ, डा. कृष्टिन श्रेष्ठ, दन्त चिकित्सक प्रतिक श्रेष्ठ लगायतका डाक्टरद्वारा फिजिशियन, दन्त रोग, बाल रोग, छाला तथा सौन्दर्य, स्त्री रोग, नाक कान घाँटी लगायत रोगको जाँच उपचार सेवा प्रदान हुनेछ । हाल नयाँ अस्पताल सञ्चालन गरिएको भवनमा पहिले नेपालगन्ज नर्सिङ होम रहेको थियो ।

अहिले पुरानो संरचनालाई मर्मत सम्हार गरेर सुरक्षित पनि बनाइएको छ । तत्काल १५ शय्याबाट सेवा सुरु गरेको अस्पतालले केही समयमै २४ शय्यासम्म विस्तार गर्ने योजना बनाएको छ । अस्पताल शुभारम्भ कार्यक्रममा उपमहानगरका प्रमुख डा. राणाले उपमहानगरपालिकाको सहकार्यमा नीजी अस्पतालले समेत सामाजिक उत्तरदायित्व वहन गर्दै विपन्नका लागि केही गर्न खोज्नु उत्साहको कुरा भएको बताए ।

उनले उपमहानगरले पनि विपन्न तथा गरिबका लागि अस्पतालसम्म जानै सकस हुने स्थितिबाट केही हदसम्म भए पनि कम गराउने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा भेरी अस्पतालका मेसु डा. प्रकाश थापा, नेपाल रेडक्रसका केन्द्रीय उपाध्यक्ष अजीत कुमार शर्मा लगायतले पनि अस्पतालमा सुरु भएको सेवाको प्रशंसा गरेका थिए ।

उक्त अस्पतालका फिजिशियन डा. पारश श्रेष्ठले निजी अस्पतालका रुपमा सञ्चालन भए पनि आफूहरुले सामाजिक उत्तरदायित्व निभाउने दावी गरे । उनले हालको सेवालाई विस्तार गर्दै सबैको पहुँचमा पु¥याउने बताए ।

‘हो अहिले सरकार अस्पतालको व्यवहार र निजी अस्पतालको शुल्कका कारण विपन्न नागरिकहरु रोग लुकाएर बस्न बाध्य छन्,’ उनले भने, ‘तर, हामी थोरै भए पनि यो बाध्यता तोड्ने कोशिस गर्नेछौं । उपमहानगरले यसमा सहजीकरण गरेको छ । शनिबार आउने बिरामीलाई जाँच र परीक्षणमा कुनै शुल्क लाग्ने छैन । हामीसँग भएका केही औषधिहरु पनि निःशुल्क उपलब्ध गराउनेछौं ।’

उनले शनिबार मात्रै नभएर अन्य दिन पनि त्यस्ता विपन्न तथा गरिब परिवारका बिरामीलाई सकेसम्म सहज रुपमा उपचार पाउने वातावरण बनाउने बताए । ‘कम्तिमा पनि रकम नभएरै बिरामी बिना उपचार फर्किनुपर्ने बाध्यता चाहिँ यहाँ आउनेछैन ।

हामी जे जति छ त्यसैमा मिलेसम्म उपचारको व्यवस्था गर्नेछौं’, उनी थप्छन्, ‘यो ठाउँ मेरो पनि हो । जसले मलाई पहिचान दियो । यहाँका नागरिकका लागि थोरै भए पनि केही गर्नु मेरो उत्तरदायित्व पनि हो ।’

  • No tags available
प्रकाशित मिति : २०७८ असोज ३ गते आइतबार