कोहलपुरमा आजदेखि खुले स्कुलः कक्षा कोठा र बेन्चसमेत स्यानिटाइज



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा आजदेखि विद्यालय सञ्चालन हुँदैछन् ।

कोरोना संक्रमणको दोस्रो भेरियन्टसँगै बन्द भएका विद्यालय आजदेखि पुनःसञ्चालनमा आएका हुन् । यसअघि कोहलपुरमा केही सामुदायिक तथा संस्थागत विद्यालयले अनलाइन मार्फत आंशिक कक्षा सञ्चालन गर्दै आएका थिए । गत असार महिनादेखि अनलाइन मार्फत कक्षा सञ्चालन हुँदै आएका विद्यालय तथा अन्य विद्यालयले पनि आजबाट भौतिक रुपमा पठनपाठन सुरु गर्दैछन् ।

तर, यति लामो समयपछि विद्यालय सञ्चालनको तयारी हुँदै गर्दा संक्रमणको जोखिम भने अझै छ । सबै विद्यार्थी र शिक्षकले कोरोनाविरुद्धको खोप पनि पाएका छैनन् । यस्तोमा प्रशासनले स्वास्थ्य मापदण्ड पालनालाई अनिवार्य गरेको छ ।

नगर शिक्षा शाखा कोहलपुरका प्रमुख अनन्तकुमार पौड्याल पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर विद्यालयमा भौतिक रुपमा पठनपाठन सुरु हुने बताउँछन् ।

मंगलबार बसेको नगरकार्यपालिकाको बैठकले स्वास्थ्य मापदण्डको पूर्ण पालनासहित भौतिक रुपमा पठनपाठन सुरु गर्ने निर्णय गरेको थियो । बैठकले विद्यालय सञ्चालन सम्बन्धी कार्यविधि निर्माण गरेको र सोही अनुसार विद्यालय सञ्चालन हुने नगर शिक्षा प्रमुख पौड्यालले बताए ।

उनका अनुसार सम्बन्धित पालिकाको कोरोना संक्रमणको अवस्थालाई मध्यनगर गर्दै स्थानीय तहले निर्णय गर्नसक्ने जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार कोहलपुरमा विद्यालय सञ्चालन गर्न लागिएको हो ।

विद्यालय सञ्चालनको लागि कोभिड–१९ संक्रमणको जोखिम रहित वातावरणमा भौतिक कक्षा सञ्चालन कार्यविधि–२०७८ स्वीकृत भइसकेको छ । कार्यविधि सम्पूर्ण सरकारी तथा संस्थागत विद्यालयहरुलाई पठाइएको पौड्यालको भनाइ छ ।

भौतिक रुपमै पठनपाठनको लागि विद्यालय कोभिड– १९ जोखिम रहित वातारवरण सिर्जना गर्ने र नेपाल सरकारद्वारा जारी स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्नुपर्ने बाध्यकारी बनाइएको छ ।

विद्यार्थीले घरबाट विद्यालय जाँदा अनिवार्य मास्क लगाउने, पैदल वा बसमा विद्यालय जाँदा सेनिटाइजरको अनिवार्य प्रयोग गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । विद्यालयमा पुगिसकेपछि भौतिक रुपमा बस्ने व्यवस्था हुनुपर्ने उनले बताए । पौड्यालका अनुसार विद्यालयले पनि कक्षाकोठा, बेन्च डेस्क, रेलिङलगायत सेनिटाइज गर्नुपर्ने कार्यविधि बनाइएको छ ।

‘कार्यविधिको प्रतिकूल कार्य गर्न पाइने छैन । स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्नुपर्नेछ,’ उनले भने, ‘विद्यार्थीको स्वास्थ्य सुरक्षामा कुनै पनि कमी नगराउन विद्यालय प्रशासनलाई निर्देशन दिइएको छ ।’

यस्तै, उनले भौतिक रुपमा विद्यालय सञ्चालन भए पनि नयाँ कोर्सबाट सुरु गरेर पठनपाठन गर्न नपाइने नियम बनाइएको जानकारी दिए । यसअघि अनलाइन कक्षामा अध्ययन गराइरहेका पाठ्यभारबाट सुरु गर्नुपर्नेछ । फेरि नयाँ सुरुवात गर्न पाइनेछैन ।

कार्यविधि अनुसार असार, साउन र भदौ महिनामा अनलाइनमार्फत पठपाठन गरिरहेका विद्यालयले फेरि कक्षा थपेर पढाउन पाइने छैन । यसैगरी उनले पहिलो त्रैमासिक परीक्षा समेत छिट्टै गर्न भनेको बताए ।

कोहलपुरमा गुठीसहित ३१ वटा सामुदायिक र मण्टेश्वरी सहित ५८ संस्थागत विद्यालय रहेका छन् । कोहलपुर क्षेत्रमा १५ हजार सरकारी तथा १९ हजार संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थी कक्षा कोठामा प्रवेश गर्दैछन् । भने करिब ५ सय शिक्षक अध्यापन गराउँदैछन् ।

 

  • No tags available
प्रकाशित मिति : २०७८ असोज १ गते शुक्रबार