आजदेखि पर्यटकका लागि खुल्यो बर्दिया निकुञ्ज



बर्दिया ।

कोरोना कहरका कारण बर्दिया राष्ट्रिय निकुञ्जमा बन्द रहेका पर्यटकीय गतिविधिहरु आजदेखि सुरु हुने भएका छन् । गत वैशाख दोस्रो सातादेखि पर्यटकका लागि बर्दिया राष्ट्रिय निकुञ्ज बन्द गरिएको थियो ।

करिब साढे ५ महिनापछि आजदेखि स्वास्थ्य मापदण्ड अपनाएर पर्यटकलाई निकुञ्ज अवलोकनका लागि प्रवेशको व्यवस्था गरिएको
हो । पहिलो चरणमा स्वास्थ्य मापदण्ड अपनाएर जंगल ड्राइभ (सफारी), ¥याफ्टिङ र जंगल वाक् गर्न मात्र अनुमति दिइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

‘पर्यटकले निकुञ्ज प्रवेश गर्दा मास्क अनिवार्य लगाउनु पर्ने, सफारी गर्दा जिपमा ६० प्रतिशत मात्रै पर्यटक बस्नु पर्ने, पैदल अवलोकन गर्दा एक जना गाइड र तीनजना मात्र जानुपर्ने व्यवस्था गरिएको छ’ उनले भने ।

आजदेखि पर्यटकहरुका लागि निकुञ्ज खोल्ने भएपछि करिब ३ सय किमि सडक मर्मत र सफाइ गरिसकिएको उनले बताए ।

राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ र नियमावली २०३० तथा बर्दिया राष्ट्रिय निकुञ्ज नियमावली ०५३ को पूर्ण पालना गर्दै बर्दिया राष्ट्रिय निकुञ्ज भित्र पर्यटकीय गतिविधि गर्न प्रवेश अनुमति दिइएको बताइएको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा सहजै बाघ हेर्न पाइन्छ भन्दै बढी पर्यटक आउँने गर्दछन् ।

पर्यटन व्यवसायी खुसी

पर्यटन व्यवसायीले निकुञ्ज खुला हुने भएपछि खुसी व्यक्त गरेका छन् । अब केही हदसम्म पर्यटक भित्रिने आशा पलाएको पर्यटन व्यवसायी रामजी थापाले बताउँछन् ।

बर्दिया राष्ट्रिय निकुञ्ज आसपास २६ वटा साना–ठूला होटल सञ्चालनमा छन् । यहाँका अधिकांश होटल व्यवसायीले पर्यटकका लागि विशेष छुटको व्यवस्था गरेका छन् । कोरोना कहरका कारण निकुञ्जमा पर्यटकीय गतिविधिहरु बन्द भएपछि पर्यटन व्यवसायीहरु मारमा परेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज १ गते शुक्रबार