नेपाली कांग्रेसको आशन्न १४औं महाधिवेशनका लागि बाँकेको क्रियाशील सदस्यता विवाद अझै टुंगिएको छैन । संस्थापन पक्षले मनपरी ढंगले सदस्यताको विवरण पठाउँदा विवाद समाधान हुनुको साटो अझै उल्झन्मा परेको छ । नेपाली कांग्रेसले विवादित २० जिल्लामध्ये बुधबार १० जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगो लगाएको छ ।
यसअघि नै ५७ जिल्लाको विवाद टुंग्याएर सूचीसमेत सार्वजनिक गरिसकेको छ । ५७ जिल्लामा त वडा अधिवेशनसमेत सम्पन्न भइसकेको छ । वडा अधिवेशन यही भदौ १८ गतेदेखि सुरु भएको थियो । बुधबार टुंगिएका १० जिल्लामध्ये पनि सात जिल्लाको विवरण सार्वजनिक भइसकेको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बुधबार टुंगिएका जिल्लामध्ये बर्दिया परे पनि बाँके भने परेन । केन्द्रीय नेतृत्वले सदस्यता विवरणमा मनपरी गर्नाले बाँकेको विवाद नटुंगिएको कांग्रेस बाँकेकी सभापति किरण कोइराला बताउँछिन् । पार्टी एकता हुँदाताका फरक–फरक पार्टीबाट आएका कार्यकर्ताका कारण पनि विवाद बल्झिएको उनको भनाइ छ । ‘अहिले महाधिवेशनकै लागि संस्थापनले हामीलाई दवावमा राखेको छ । मनपरी ढंगले सदस्यता विवरण पठाउने काम भएको छ’, उनले भनिन्, ‘पटक–पटक विवाद समाधानका लागि सहमति पनि भएको हो ।
तर, बिहान पठाएको विवरण साँझै उल्ट्याउने गरिएको छ । यो क्रम कहिलेसम्म चल्ने हो थाहा छैन ।’ सदस्यता विवरण पठाउनका लागि तोकिएका समितिको निर्णय हुनुपर्ने भए पनि बिना निर्णय धमाधम पठाइएकाले पनि अहिले विवाद बनेको उनको भनाइ छ ।
तत्कालीन विजय गच्छदारको समाजवादी लोकतान्त्रिक, सुनिल थापाको राप्रपाबाट मिसिन आएकाहरुका कारण बाँकेमा सदस्यता विवाद समाधान नभएको कोइरालाको भनाइ छ । संस्थापनले महाधिवेशनमा कसरी इतर पक्षलाई कमजोर बनाउने रणनीति लिएको छ ।
त्यसैले सदस्यता विवरणमै हावी भएर अघि बढ्न वर्तमान संस्थापनको रणनीति हो । तर, संस्थापन इतरले उक्त कुरा मानेको छैन । ‘सदस्यता पठाउँदा तोकिएका समितिले निर्णय गर्नुपथ्र्यो । तर, त्यसो भएन । अहिले सोही कारण नै बाँकेको विवाद टुंगिन सकेको छैन’, उनले भनिन् ।
सबै जिल्लाको विवाद समाधान गरी छिट्टै पार्टीको केन्द्रीय निर्वाचन समितिलाई विवरण बुझाउने कांग्रेसको तयारी छ । क्रियाशील सदस्यता विवरण प्राप्त भएपछि मात्र समितिले बाँकी जिल्लामा वडा अधिवेशन प्रारम्भ गर्ने भएको छ । क्रियाशील सदस्यता छानविन समितिले विवाद टुंग्याएर बुझाएका थप १० जिल्लामध्ये ७ जिल्लाको सूची वेबसाइटमार्फत सार्वजनिक गरिएको निर्वाचन समितिले जनाएको छ ।
बुधबार क्रियाशील सदस्यताको सूची सार्वजनिक गरिएका जिल्लाहरूमा काठमाडौं, मोरङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाजुरा रहेका छन् । निर्वाचन समितिमा महोत्तरी, पर्सा र धनुषा जिल्लाको क्रियाशील सदस्यता सूची पुगे पनि ती जिल्लाको सूची सार्वजनिक गरिएको छैन । तर, बाँकेको हालसम्म ‘एक्चुअल’ सदस्यता नटुंगिएको सभापति कोइराला बताउँछिन् ।
करिब नौ लाखको संख्या रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ-नगर वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफ्नो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्छन् । कांग्रेसको पछिल्लो अधिवेशन कार्यतालिकाअनुसार अधिवेशन प्रारम्भ हुन बाँकी २० जिल्लामा गाउँ÷नगर वडा अधिवेशन आगामी असोज ५ गते तोकिएको छ ।
त्यस्तै गाउँ÷नगरपालिका अधिवेशन असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन-एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते निर्धारण गरिएको छ ।
एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते तोकिएको छ । यस्तै कांग्रेसले प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिसकेको छ ।










प्रतिक्रिया दिनुहोस्