बाँसगढीमा मनाइयो बाल दिवस: निबन्ध र वक्तृत्वकला प्रतियोगिता सम्पन्न



मधुर पौडेल । बर्दिया ।

बर्दियाको बाँसगढीमा मावि स्तरीय निबन्ध लेखन र आधारभुत तह स्तरीय वक्तृत्वकला प्रतियोगिता भएको छ ।

मंगलवार ५७ औं राष्ट्रिय बाल दिवसको अवसर पारेर बाँसगढी नगरपालिका शिक्षा शाखाको आयोजनामा निबन्ध लेखन र वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । बालविवाह नितीगत तथा कानुनी प्रावधान कार्यान्वयनमा स्थानीय सरकारको भूमिका विषयमा निबन्ध लेखन र बालविवाह न्यूनीकरणमा हाम्रो भूमिका विषयमा वक्तृत्वकला प्रतियोगिता भएको थियो ।

निबन्ध लेखनमा नेरामावि बासँगढीकी छात्रा राधिका बुढामगर प्रथम भएकी थिइन् । जनता माविका बठुवाकी छात्रा नर्वदा तिमिल्सना दोस्रो र बाँसगढी एकेडेमिक स्कुलकी छात्रा स्मृती न्यौपाने तेस्रो र लालिगुराँस मावि माछागढकी छात्रा सृजना रावत चौथो भए । निबन्ध लेखन प्रतियोगितामा ७ जना विद्यार्थीहरुले भाग लिएका थिए ।

आधारभुत तह स्तरीय वक्तृत्वकला प्रतियोगितामा ४ जनाले मात्र भाग लिएको बाँसगढी नगरपालिका शिक्षा शाखाले जनाएको छ । वक्तृत्वकलामा राँझा हिमालय बोडिंग स्कुलकी छात्रा बन्दना डिसी पहिलो, नेरा मावि बाँसगढीका छात्र राजेन्द्र न्यौपाने दोस्रो, सर्वोदय आधारभुत विद्यालयकी छात्रा मानिका आचार्य तेस्रो र पृथ्वी मावि लखनाकी छात्रा ममता खड्का चौथो भएका थिए ।

No description available.

दुवै प्रतियोगितामा विजेता भएका छात्र छात्रालाई विभिन्न स्टेशनरी सामान र प्रमाणपत्र वितरण गरिएको शिक्षा शाखाकी प्राविधिक सहायक तुल्सी कार्कीले जानकारी दिइन् ।

सो अवसरमा बोल्दै बाँसगढी नगरपालिकाका प्रमुख शालिकराम अधिकारीले नगरपालिकाले बालमैत्री स्थानीय शासन अवलम्बन गरेको बताउँदै बालवालिकाको नैसर्गिक अधिकारमा घर, गाउँ, समाज र राष्ट्रले अभिभावकको भूमिका खेल्नुपर्ने बताए ।

विद्यालयबीचको प्रतिस्पर्धात्मक प्रतियोगिताले विद्यार्थीमा प्रेरणा र निखारता आउने भएकाले र नियमित क्रियाकलाप तथा बाहिरी ज्ञानले विद्यार्थीको सिकाई विकासमा महत्वपूर्ण भूमिका खेलेको उनले दाबी गरे ।

‘सामान्य अवस्था वा कोभिड महामारी बाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ देशभर मंगलवार दिवस मनाइएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ भदौ ३० गते बुधबार