दुई वर्षदेखि नाली अलपत्र



डिल्ली शाही ।

बाँकेको कोहलपुर नगरपालिका–११ हरियाली मार्गमा निर्माण भइरहेको पक्की नाला दुईवर्षदेखि अलपत्र छ । नगर विकास समितिले निर्माण गरिरहेको नाला समय मै निर्माण नहुुँदा अलपत्र परेको हो ।

पक्की नाली निर्माणका लागि दुई वर्षअघि धेरै क्षेत्रमा खनिएको थियो । तर अहिलेसम्म पनि नाली निर्माण कार्य सम्पन्न हुन सकेको छैन नाली समयमै निर्माण नहुँदा हरियाली मार्गका स्थानीयले सास्ती व्यहोर्नु परेको गुनासो गरेका छन् ।

स्थानीय शान्ता गिरी नगर विकासले आफै भत्काएको नाली समयमै नबनाउँदा स्थानीयले सास्ती खेपेको बताउँछिन् । उनका अनुसार नाली निर्माण नहुँदा वर्षायाममा सडकको पानी घरभित्र छिर्ने गरेको छ । ‘हरियाली मार्गमा पहिले इट्टाको नाली थियो । स्थानीयलाई कुनै समस्या थिएन,’ उनले भनिन्, ‘त्यतिबेला जाम हुने समस्या थिएन । आफैं बगेर जान्थ्यो ।’

नगर विकास समितिले नै पक्की नाली बनाउने भनेर डोजरले भत्काएपछि झन समस्या उत्पन्न भएको उनले बताइन् । अहिलेसम्म पक्की नाली निर्माण नगरी अलपत्रमा छोडेको भन्दै गुनासो गरिन् ।

अर्का स्थानीय तीर्थ बहादुर बस्नेतले वर्षेनी व्यक्तिगत खर्चमा खर्चमा नाली सरसफाइ गरिरहेको जानकारी दिए । नालीको समस्या समाधानका लागि दुईपटक सम्म कार्यालयमा जाँदा समेत सुनुवाइ नभएको दुःखेसो गरे । पटकपटक स्थानीयहरुले नगर विकास समितिलाई लिखित र मौखिक रुपमा अनुरोध गरेका थिए ।

२०७६ सालमा नगर विकासले नाली सहित सडक पीच गरेको स्थानीय माधव पौडेल बताउँछन् । उनका अनुसार नाली निर्माण हुँदा घरहरु थिएनन्। तर घरहरु निर्माण हुँदा नाली माथि राखिएका ढक्कनहरु दबिएका थिए । दाबिएका नालीहरुलाई माथि उठाउनका लागि घरमुलीहरुले ढक्कनमाथि उठाउन आग्रह गरिएको उनले बताए ।

नगर विकास समितिकाका इन्जिनियर विराट अर्यालले नाली निर्माण गर्न भदौ ८ गते ठेक्का भइसकेको बताए । उनका अनुसार अब असोज ७ गते मात्र ठेक्का खुल्ने तयारी छ । यसपछि १ महिना भित्रै आर्थिक मुल्याङकनको काम गरिने उनले बताए ।मुल्याङकनको काम सकिएपछि निर्माण व्यवसायी र नगर विकास समितिको सम्झौता पश्चात काम सुरु हुने अर्यालको भनाइ छ । थप काम तत्काल सुरु नहुने र मंसिर महिनाबाट निर्माण थालिने नगर विकास समितिले जनाएको छ ।

प्रकाशित मिति : २०७८ भदौ २९ गते मंगलबार