पत्रकारले मनाए चाचाजीको जन्मजयन्ती



नेपालगञ्ज ।

प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नलाल गुप्ता ‘चाचाजी’ को ९३ आंै जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ । बाँकेको नेपालगञ्जमा आइतवार विभिन्न कार्यक्रमहरु गरेर चाचाजीको जन्मजयन्ती मनाइएको हो । जन्मजयन्तीको अवसरमा नेपाल पत्रकार महासंघ बाँके शाखा र प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता प्रतिष्ठानले छुट्टाछुट्टै कार्यक्रम गरेका थिए ।

कार्यक्रममा बोल्ने सहभागीहरुले चाचाजी व्यक्ति मात्रै नभई यस क्षेत्रको पत्रकारिताको ईतिहास भएकोमा जोड दिए । उनले लेखेका पाण्डुलिपिहरुको संरक्षण गरेमा आगामी दिनमा पत्रकारिताका विद्यार्थीका लागि अध्ययनको पाटो बन्न सक्ने उनीहरुले औंल्याएका थिए ।

महासंघले आफ्नै भवनमा गरेको कार्यक्रममा बोल्दै पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारीले जिल्लाको पत्रकारिताले आफ्नै विरासत बोकेको भन्दै उनीहरुले पत्रकारिता क्षेत्रमा चाचाजीको योगदानको बारेमा चर्चा गरे ।

‘बाँकेको पत्रकारितामा चाचाजीको योगदान तपाई हामीले कहिल्यै भुल्नुहुदैन,’ उनले भने, ‘उहाँ जस्ता अग्रज व्यक्तिहरुको पत्रकार महासंघले सधैं सम्मान गर्छ र आगामी दिनमा समेत गर्नेछ ।’ सो अवसरमा बोल्दै नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली र प्रेस संगठन बाँकेका अध्यक्ष डक्ट प्रसाद धितालले चाचाजीको योगदान कसैले पनि भुल्न नसक्ने भन्दै नयाँ पुस्ता समेत जानकार हुनुपर्नेमा जोड दिएका थिए । नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष समेत रहेका ‘चाचाजी’को ०७६ माघ १५ गते स्वर्गारोहण भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ भदौ २८ गते सोमबार