समाज सेवा संस्थाको समन्वयमा अति विपन्नलाई राहत



कोहलपुर  : कोहलपुर नगरपालिका वडा नम्बर ९ मा सञ्चालित साईनिङ स्टार अंग्रेजी माध्यमिक बिद्यालयले अति विपन्न नागरिकलाई राहत सहयोग प्रदान गरेको छ । कोभिड–१९ को दोस्रो चरणबाट प्रभावित भएका अपांगता भएका तथा अति विपन्न ६ परिवारलाई विद्यालयले खाद्यन्न सहयोग गरेको हो ।

समाज सेवा सस्था नेपाल कोहलपुर १४ हवल्दारपुरको समन्वयमा चामल, दाल, नुन, तेल र ब्लाङकेट वितरण गरिएको विद्यालयले जनाएको छ । विपन्न परिवारलाई प्रतिव्यक्ति ४ हजारका दरले कुल २४ हजार मूल्य बराबरको राहत सहयोग गरिएको समाज सेवा संस्था नेपालका अध्यक्ष विनोद थापाले बताए ।

उनका अनुसार उक्त विद्यालयले संस्थाले सुरु गरेको घाँटी को क्यान्सर पीडित मोतिलाल परियार बचाउ अभियानलाई समेत ५ हजार एक सय रुपैयाँ सहयोग गरेको थियो ।‘विद्यालयले बेलाबेलामा सामाजिक कार्य गर्दै आएको छ ।

विद्यालयसँग हाम्रो संस्थाको समेत समन्वय भइरहेको छ । क्यान्सर पीडित तथा अति विपन्नलाई सहयोग गरिएको हो ।’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भने । संस्थाले अहिले क्यान्सर पीडित मोतिलाल परियार बचाउ अभियान सञ्चालन गरिरहेको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०७८ भदौ २८ गते सोमबार