नेपालगन्ज ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अहिलेकै अवस्थामा एमसीसी पास हुन नसक्ने दावी गरेका छन् ।
शनिबार नेपालगन्ज पार्टीको पिपुल्स भोलेन्टियर घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) परियोजनाका केही बुँदा आपत्ति जनक भएकाले संशोधन आवश्यक रहेको बताए । अहिले गठबन्धन सरकार एमसीसी पास गराउन उद्दत भएको भन्ने प्रशंगको जवाफ दिँदै नेता नेपालले भने, ‘हामीले भनिसकेका छौं । अहिलेकै अवस्थामा कुनै हालतमा एमसीसी पास हुँदैन । हाम्रा लागि हाम्रो देशको संविधान र स्वाधीनता ठूलो हो ।’
उनले आफूहरुले अमेरिकासँग शंकास्पद बुँदाबारे लिखित जवाफ मागेकाले त्यो जवाफ नआउँदासम्म कुनै निर्णय नगर्ने बताए । ‘हामीले जवाफ मागेका छौं । सैन्य गठबन्धनसँग जोडिएको छैन, जग्गा लिइसकेपछि त्यसको स्वामित्व नेपालकै हुनेछ, नेपाल सरकारको निकायले नै परियोजनाको अडिट गर्नेछ भन्ने लगायतका विषयमा प्रश्न छन् । तीनको ठोस जवाफ अमेरिकाले दिनुपर्छ । नत्र कुनै हालतमा पास हुन
सक्दैन ।’
यस्तै, उनले विगतमा ओली सरकारले एमसीसी अध्ययनका लागि झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलले दिएका सुझाव र संशोधनका बुँदाबारे गम्भीर छलफल हुनुपर्ने जिकिर गरे । ‘पूर्व प्रधानमन्त्री खनालको संयोजकत्वमा गठित कार्यदलले संशोधनका लागि दिएका सुझाव कार्यान्वयन हुनुपर्छ । अमेरिकाले पनि हामीले मागेको प्रश्नको जवाफ दिनुपर्छ । त्यसपछि मात्रै हामी पार्टी र गठबन्धनभित्र छलफल गर्नेछौं ।’
तर, यता प्रधानमन्त्री शेरबहादुर देउवाले भने अहिलेकै अवस्थामा एमसीसी पास गराउन दलबीच सहमति खोजीरहेका छन् । यसबारे भने नेता नेपालले कुनै प्रशंग नै उठाएनन् ।
ओलीलाई सखाप पार्दिन्छौं
पहिलोपटक संसद् विघटन हुँदादेखि नै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नेपाल खनिएका थिए । अहिले औपचारिक रुपमै छुट्टिएर नयाँ पार्टी गठन भइसकेका छन् । तर, पनि नेता नेपालले केपी ओलीविरुद्ध खनिन छाडेका छैनन् ।
उनले अहिले नयाँ दल दर्ता गर्ने स्थिति आउनु र जनअभिमतको अपमान हुने अवस्थासम्म आइपुग्न केपी ओली नै मुल कारण भएको बताए । उनले केपी ओली दक्षिणपन्थी अधिनायकवादी भएको समेत बताए । आफूहरुलाई कतिपय फरक पार्टी गठन गरेर सकिन लागेको भनेको भन्दै नेता नेपालले भने, ‘अब सूर्य चिन्ह र एमाले ट्यागले हुँदैन । जनता र कार्यकर्ता सँधै नेताको साथमा हुन्छन् । चिन्ह र नामले केही फरक पर्दैन ।’
अब नेकपा एमाले पार्टी नभई एक प्राइभेट कम्पनीका रुपमा स्थापित हुँदै गएको उनको भनाइ थियो । ‘अब नेकपा एमाले पार्टी रहेन । त्यसमा कम्युनिष्टमा हुनुपर्ने कुनै गुण छैन । मात्र केपी ओली प्राइभेट लिमिटेड भएको छ । अहिले केही अलमलमा परेका साथीहरु पनि यतै आउनुहुन्छ’, नेपालले भने ।
सुदूरपश्चिममा नेकपा एस एमालेभन्दा ठूलो दल बनेको छ । उनले देशभरमा ओलीको शक्ति क्षण गराउँदै आएकाले केही समयमै उनको शक्ति र राजनीति नै सखाप पार्दिने चेतावनी पनि दिए । ‘तपाईंहरुले देख्नुभएकै छ । एक–एक गर्दै कसरी हामीले प्रदेशबाट ओलीको शक्ति सिध्याउँदै आएका छौं । केही समयमै उनको शक्ति मात्रै होइन, पार्टी र राजनीति नै सखाप पार्दिन्छौं ।’
पार्टीबाट अलग भए पनि आफू मदन भण्डारीको जबजको सिद्धान्त भने अंगिकार गरिराखेको उनको भनाइ थियो । नेता नेपालले आजै बाँकेमा आफ्नो पार्टी कार्यालय पनि उद्घाटन गरेका छन् । एमालेबाट विभाजित भएर नेकपा एस दर्ता भएसँगै नेता नेपालको जिल्ला भ्रमण बाँके पहिलो हो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य दलबहादुर सुनुवारले ६ महिनाभित्रै आफूहरुले केही गरेर देखाइदिने दावी गरे । ओलीका साथमा लागेकाहरु झड्केला छोरा भएको भन्दै उनीहरुले पार्टी जोगाउन नसक्ने जिकिर समेत गरे । यस्तै, नेकपा एस युवा संघका केन्द्रीय अध्यक्ष नरेश शाहीले एमाले बनाउन आफूहरुले दिनरात योगदान गरे पनि ओलीले त्यसको कदर गर्न नसकेको बताए । उनले अहिले एमालेमा पदलोभी र आफ्नो निजी स्वार्थ हेर्नेहरु मात्र भएको दावी गरे ।









प्रतिक्रिया दिनुहोस्