बाँकेको जानकी गाउँपालिका– ३ मानपुरमा सडकमा खाल्डाखुल्डी पर्दा आवतजावतमा समस्या भएको छ ।
नेपालगञ्ज गुलरिया सडक खण्ड अन्र्तगत पर्ने हुलाकी राजमार्गमा परेका ठूला खाल्डामा पानी जमेर पोखरी बन्द सवारी साधन आवतजावतमा समस्या भएको हो । वर्षाका कारण उक्त सडक खण्डको मानपुर क्षेत्रको ३० मिटर जती सडकमा पानी जमेको छ ।
नेपालगञ्ज नजिकै रहेको मानपुरमा सडक बिग्रिएपछि साना ठूला सवारी आवतजावतमा समस्या भएको सवारी चालक अमृत खड्काले बताए । ‘मानपुर नजिकैको मोडमा नै सडक बिग्रिएको छ’ उनले भने, ‘ठूलो पानी परेको बेला त खाल्डोमा कती पानी छ भन्ने समेत थाहा हुँदैन । कतीबेला त्यही खाल्डोमा आफैले चलाइराखेको साधन दुर्घटना हुन्छ भनेर डर लाग्छ ।’
मोडमा रहेको एउटा राणाकालीन घर केही महिनाअघि भत्काइएको थियो । गत फागुनको दोस्रो साता सडकको दक्षिणी किनारको मोडमा रहेको शान्तिदेवी सिंह र अमर सिंहको दुईतले पक्की घर भत्काइएको हो । अहिले त्यही घर भत्काईएको क्षेत्रदेखि नै सडक बिग्रिएको छ ।
सम्बन्धित निकायलाई सडक मर्मतको लागि जानकारी गराउँदा पनि कसैले मर्मतमा चासो नदिएको स्थानीय नसिब खानले जानकारी दिए । ‘धेरै पटक भनेपछि बल्ल दुई ट्रक ग्राभेल झारिएको छ’ उनले भने, ‘वर्षाका कारण अहिले करिब ३० मिटर दुरीको सडकमा पानी जमेको छ ।’
सडकमा परेका ठूला खाल्डाका कारण साना सवारी साधनहरुलाई आवतजावतमा धेरै समस्या हुने गरेको छ । ‘पानी परेको समयमा यहाँ साईकल मोटरसाईकल लगायतका साना सवारी चलाउन समस्या हुन्छ’ स्थानीय खानले भने, ‘यही बाटो भए साईकल मोटरसाईकलमा मजदुरी गर्न धेरै जान्छन् ।’
नेपालगञ्ज गुलरिया सडक खण्ड अन्र्तगतमा पर्ने उक्त सडक एकदमै व्यस्त सडकमा पर्छ । यो सडक खण्ड भएर दैनिक हजारौं सवारी साधन आवतजावत गर्ने जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ ।
विगतदेखि नै उक्त क्षेत्रमा धेरै सवारी दुर्घटना हुँदै आएको थियो । सडक फराकिलो बनाउनका लागि मोडमा नै रहेको पुरानो घर भत्काईए पनि सडक फराकिलो नबनाइदा अहिले आएर समस्या आएको हो । सडकमा सवारी चाप भएको समयमा सडक बिग्रिएका कारण जाम समेत लाग्ने गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रहरी नायब निरीक्षक ओम प्रसाद पौडेलले सडक बिग्रिएका कारण सवारी सञ्चालनमा समस्या भएको बताए । ‘मोडमा नै केही मिटर सडकमा खाल्डाखुल्डी हुँदा सवारीको जाम समेत लाग्ने गरेको छ’ उनले भने, ‘सडककै कारण दैनिक जसो सवारी दुर्घटना समेत हुने गरेको छ ।’
३०/४० मिटर जती सडकमा पानी जमेका कारण सवारी चलाउन सास्ती हुने ट्राफिक प्रहरी नायब निरीक्षक पौडेल बताउँछन् । यता जानकी गाउँपालिकाकी कार्यबाहक अध्यक्ष भुमिसरा धितालले तत्काल आउजाउमा सहज बनाउनका लागि ग्राभेल हालेको दाबी गरिन् ।
‘हामिले तत्काल आउजाउमा सहज गराउनको लागि ग्राभेल हालेका छौं’ उनले भनिन्, ‘सडक विभागसँग दुबै साइडमा पानी निकासका लागि सानो नाली बनाउने सहमति भएको छ । तर नाली निकास नगर्ने स्थानीयको दबाव रहेको छ ।’










प्रतिक्रिया दिनुहोस्