नेपालगञ्ज ।
बाँकेको नेपालगञ्ज शहर क्षेत्रमा जडान गरिएका सीसीटिभी क्यामेरा व्यवस्थापनको लागि माग गरिएको छ । बाँकेका नागरिक समाजका अगुवाहरुको एक समूहले सीसीटिभी क्यामेरा व्यवस्थापनको माग गर्दै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टलाई ज्ञापन पत्र बुझाएको हो । २०७५ सालमा शहरका विभिन्न स्थानमा जडान गरिएका सीसीटिभी क्यामेराहरु बिग्रिएका छन् ।
अपराधिक गतिविधि नियन्त्रण, चोरी, सडक दुर्घटना जस्ता घटनाको अनुसन्धानमा सीसीटिभी क्यामेराको महत्वपुर्ण भूमिका हुने भन्दै उनीहरुले तत्काल मर्मत गरेर सही व्यवस्थापन गर्न माग गरेका हुन् । केही दिनअघि मात्र त्रिभुवन चोकमा मोटरसाईकलको ठक्करबाट एक तीन वर्षीया बालिकाको मृत्यु भएको थियो । अहिलेसम्म पनि बालिकालाई ठक्कर दिने मोटरसाईकलको पहिचान हुन सकेको छैन । त्रिभुवन चोकमा सीसीटिभी क्यामेरा भएपनि बिग्रिएका कारण मोटरसाईकलको पहिचान हुन समस्या भएको हो ।
सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिवक्ता विश्वजित तिवारीले नगरमा रहेका सीसीटिभी बिग्रिएका कारणले मर्मतको लागि प्रशासनलाई ज्ञापन पत्र बुझाइएको जानकारी दिए । सहायक प्रमुख जिल्ला अधिकारी विष्टले ज्ञापन पत्र बुझ्दै नगरमा जडान भएका सीसी क्यामराको मर्मत सम्भारको कार्य गर्नुपर्ने देखिएकाले तत्काल पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।
नगर विभिन्न स्थानमा विभिन्न सरकारी तथा गैरसरकारी र निजी क्षेत्रको आर्थिक सहयोगमा सीसीटिभी क्यामेरा जडान गरिएपनि केही वर्षमा नै काम नगर्ने भएपछि समस्या भएको हो । नेपालगञ्ज उप–महानगरपालिकाले सीसी क्यामेराहरु मर्मत गर्ने जिम्मेवारी आफ्नो नभएको भन्दै जिम्मेवारीबाट पछि हटिसकेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले बिग्रिएकामध्ये केही मर्मत गरेर सञ्चालनमा ल्याइएपनि सबै सञ्चालनमा भने आउन नसकेको जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्