बाँकेमा थपिए ११ संक्रमित



कोहलपुर ।

पछिल्लो २४ घण्टामा सोमवार बाँकेमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा रहेका तीन प्रयोगशालामा गरिएको परीक्षणमा २१ जनामा संक्रमण पुष्टि भएकोमा बाँकेका ११ जना रहेका थिए । ६ महिला र ५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

तीनवटा प्रयोगशालामा १५७ नमुना परीक्षण गर्दा थप २१ जनामा संक्रमण पुष्टि भएकोमा ४ जना बालबालिका रहेका थिए । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ६ महिला र ५ पुरुष गरेर ११ जनामा संक्रमण पुष्टि भएको थियो । मेडिकल कलेज कोहलपुर र बागेश्वरीको ल्याबमा गरिएको परीक्षणमा भने जिल्लाका कसैलाई पनि संक्रमण पुष्टि भएको थिएन । सोमवार थपिएकासँगै बाँकेमा कुल कोरोना संक्रमित १८ हजार ५९ जना पुगेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

उनका अनुसार संक्रमितमध्ये ७ हजार ७३४ महिला र १० हजार ३२५ पुरुष रहेका छन् । जिल्लामा गरिएको परीक्षणमा बाहिरी जिल्लाका ५÷५ महिला र पुरुष गरि १० जनामा संक्रमण पुष्टि भएको थियो । जिल्लामा सोमवार ११ जना नयाँ संक्रमित थपिदाँ ५ जना कोरोना जितेर घर फर्किएका थिए । २ महिला र ३ पुरुष गरेर थप ५ जना कोरोना जितेर घर फर्किएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । हालसम्म कोरोना जितेर बाँकेमा १७ हजार ६५१ जना घर फर्किसकेका छन् ।

कोरोना जितेर घर फर्किनेहरुमा ७ हजार ५५२ महिला र १० हजार ९९ जना पुरुष रहेको फोकल पर्सन ओलीले जानकारी दिए । सोमवारसम्म बाँकेका सक्रिय कोरोना संक्रमितको संख्या ५४ महिला र ५३ पुरुष गरेर १ सय ७ जना रहेको थियो । जिल्लामा बाहिरी जिल्लाका सक्रिय संक्रमित भने ३२ जना रहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

अस्पतालमा २६५ महिला र १८ पुरुष गरेर ४४ जनाको उपचार भइरहेको थियो । होम आइसोलेसनमा भने ४० महिला र ५० पुरुष गरेर ९० जना रहेका थिए । जिल्लामा सिकिस्त बिरामीको संख्या १६ रहेको छ भने ४ जना भेन्टिलेटरमा छन् । २९ जना बिरामी भने मध्यम खाले भएको बताइएको छ । हालसम्म बाँकेका अस्पतालमा उपचारकै क्रममा जिल्लाभित्र र बाहिरी जिल्लाका ७३० जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा २६४ महिला र ४६६ जना पुरुष रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ भदौ २२ गते मंगलबार