संक्रमित महिलालाई नर्सले खुवाए दर



नेपालगञ्ज ।

नजिकिँदै गरेको तीजको अवसरमा भेरी अस्पताल नेपालगञ्जको कोभिड वार्डमा कार्यरत नर्सहरु मिलेर बिरामी (संक्रमित) महिलासँग तीज मनाएका छन् । सोमवार अस्पतालको कोभिड वार्डमै पुगेर नर्सले संक्रमित महिलालाई चुरा र टिकुली प्रदान गर्नुका साथै विभिन्न परिकारका तीजको दर खुवाएका हुन् । अस्पतालको कोभिड वार्डमा कार्यरत नर्सिङ अधिकृत मौनता अर्यालका अनुसार वार्डमा भर्ना भएका करिव २३ जना संक्रमित महिलालाई तीजको कोशेली चुरा र टिकुली प्रदान गर्नुका साथै दरका रुपमा खिर, केरा, मिठाई, पुरी र तरकारीका परिकारहरु खुवाएका थिए ।

कोभिड वार्डमा संक्रमित महिलालाई तीजको कोशेलीसहित दर खुवाउँदै भेरी अस्पतालका नर्सहरु ।


महिलाको महान पर्व हरितालिका तीज नजिक आइरहेका बेला बाहिर रौनकता छाएपनि कोभिड वार्डमा भर्ना भएका महिला मृत्युसँग लड्नु परिरहेको अवस्थामा अलिकति भएपनि पीडा कम होस् भन्ने उद्देश्यले यस्तो कार्यक्रम गरिएको उनले बताइन् । ‘तीज नजिक आइरहेको छ, रमाईलो पनि भइरहेको छ, तर बिरामी भएर आउनु भएका दिदीबहिनीलाई मनमा कति पीडा हुन्छ’ नर्सिङ अधिकृत अर्यालले भनिन्, ‘त्यही भएर उहाँहरुलाई पनि तीज मनाएको अनुभूति होस् भनेर हामीले सानो आर्थिक जुटाएर यो कार्यक्रम गरेका हौं ।’

अस्पतालको कोभिड वार्डमा भर्ना भएका कतिपय संक्रमितले निको भएर घर फर्किंदा दिनरात सेवा गरेका नर्सलाई केही आर्थिक सहयोग गरेका थिए । सोही रकमलाई आफूहरुले पनि थपेर कोभिड वार्डमै भर्ना भएका संक्रमित महिलालाई तीजको कोशेली र दर खुवाउने कार्यक्रम राख्ने योजना बनेको उनले बताइन् । दिनरात आफ्नो सेवामा खटिने नर्सले वार्डमै पुगेर तीजको कोशेली दिँदा र दर खुवाउँदा अधिकांस संक्रमित महिला हर्षित भएका थिए ।

अस्पतालमा भर्ना भएपनि तीजको कोशेली र दर खान पाउँदा माईती कहाँ गएको जस्तो अनुभूति मिलेको एक संक्रमितले बताईन् । अस्पतालको कोभिड वार्डमा सोमवार दिउँसोसम्म करिव ४५ जना जति संक्रमित भर्ना भएका थिए । त्यसमध्ये आधा जति महिला संक्रमित रहेको भेरी अस्पतालकी प्रमुख नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठले जानकारी दिईन् । महामारी पूर्ण रुपमा नियन्त्रणमा नआउँदा अस्पतालमा संक्रमितहरु भर्ना हुने क्रम चलिरहेको उनले बताईन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ भदौ २२ गते मंगलबार