कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका—०६ रझेना स्थित सामुदायिक भवन निर्माण भएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक भवन निर्माण भएको हो । शनिबार बाँके क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज ‘अथक’ ले उक्त भवनको उद्घाटन गरेका छन् ।
उनले कोहलपुरका प्रत्येक वडामा सामुदायिक भवन आवश्यक रहेको बताए । ‘विपद्को बेलामा सामुदायिक भवनहरु आवश्यक हुन्छ,’ उनले भने, ‘यसको निर्माण, संरक्षण र सम्बद्र्धन गर्नुपर्दछ ।’
यसका लागि अझै थप बजेटको व्यवस्थापन गर्ने आश्वासन पनि उनले दिए । यस्तै कोहलपुर वडा नं. ६ का वडाअध्यक्ष रामशरण थारुले प्रतिनिधि सभा सदस्य अथकलाई धन्यवाद दिएका थिए । ‘वडामा विभिन्न किसिमका छलफल, अन्तरक्रिया लगायतका काम गर्न अब समस्या हुँदैन’, उनले भने । उनले सांसद अथकसँग भवन व्यवस्थापनका लागि थप बजेटको पहल गरिदिन अनुरोध गरे ।
सांसद विकास कोषबाट १० लाख, कोहलपुर नगरपालिकाबाट २ लाख र उपभोक्ता समितिको तर्फबाट १ लाख ५९ हजार ६ सय ३ रुपैयाँ र वडा अध्यक्ष थारुको व्यक्तिगत ४८ हजार १ सय ५५ रुपैयाँ सहयोगमा भवन निर्माण भएको हो ।









प्रतिक्रिया दिनुहोस्