सुन बरामद प्रकरण : अनुसन्धान गर्न समिति गठन



नेपालगञ्ज ।

बाँकेको नेपालगञ्ज विमानस्थलबाट बरामद भएको चार किलो बढि सुनको बारेमा अनुसन्धान गर्न नेपाल प्रहरीले छानबिन समिति गठन गरेको छ । त्रिभुवन विमानस्थल हुँदै शुक्रवार नेपालगञ्ज पुगेको सुनलाई नेपालगञ्ज विमानस्थलमा सुरक्षार्थ खटिएका प्रहरीले बरामद गरेपछि उक्त सुन काठमाडौँ विमानस्थलबाट कसरी बाहिरियो भन्ने विषयमा छानबिन गर्न त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले प्रहरी उपरीक्षक
(एसपी) नान्तिराज गुरुङको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको हो ।

नेपालगञ्ज विमानस्थलमा कार्यरत प्रहरीले सुनसहित झापा साविक खुदुनाबारी गाविस–६ का २६ वर्षीय अमिर लगुन विश्वकर्मा र मोरङ्ग लेटाङ्ग–२ का २६ वर्षीय बुद्धिमान खातीलाई पक्राउ गरेको थियो । त्रिभुवन विमानस्थल सुरक्षा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाका अनुसार समितिमा प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक र प्रहरी नायव निरीक्षक सदस्य रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यति ठूलो परिमाणको सुन त्रिभुवन विमानस्थलबाट कसरी बाहिरियो भन्नेबारे समितिले छानबिन गरेपछि प्रतिवेदनका आधारमा आवश्यक प्रक्रिया अघि बढाइनेछ ।

दुवै जना शुक्रवार दिउँसो काठमाडौंबाट श्री एयरको फ्लाईट नम्बर एसएचए ४३३ नम्बरको जहाजबाट नेपालगञ्ज विमानस्थलमा उत्रिएका थिए । विमानस्थलको आगमन कक्ष बाहिर दुवै जना शंकास्पद रुपमा रहेको देखिएपछि प्रहरी टोलिले सोधपुछ र तलासी गरेको थियो । सोही क्रममा प्रहरीले विश्वकर्माले लगाएको दाँया र बाँया खुट्टाका जुत्तामा २÷२ विस्कुट सुन तथा खातीले लगाएको दाँया र बाँया जुत्ताको तलुवामा १÷१ पीस विस्कुट गरि जम्मा ६ थान विस्कुट फेला पारेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

उक्त काँचो सुन तीन किलो ९९४ ग्राम रहेको थियो । सोही क्रममा प्रहरीले खातीले बोकेको लेदरको कालो रंगको झोला चेकजाँच गर्दा झोला भित्र रहेको सुनको तिलहरी थान १, वाला थान १ र गणेश लकेट ५ थान फेला पारेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुसुदन न्यौपानेले जानकारी दिए । काँचो र तयारी गरेर सुन चार २१.४९ ग्राम सुन रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ भदौ २० गते आइतबार