18 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

नेपाल–भारत मैत्रीपूर्ण खेल बराबारीमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, भदौ १८, २०७८  

कोहलपुर  नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ । बिहीबार साँझ दशरथ रंगशालामा भएको खेल १–१ गोलको बराबरीमा सकिएको हो । खेलमा नेपालले पहिले अग्रता लिएर पनि जोगाउन सकेन। नेपालले खेलको ३६ मिनेटमा अग्रता लियो। नेपालका लागि अञ्जन विष्टले गोल गरेका थिए ।

भारतका चिङ्गलेसना सिंहले दिएको ब्याक पास भारतीय गोलकिपर गुरप्रित सिंह सान्धुले भेट्टाउन सकेनन्। त्यही अवसरमा अञ्जन विष्टले बललाई गोल पोस्टको दिशा दिएर नेपाललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा नेपालले अग्रता कायमै राख्यो । तर दोस्रो हाफको
६० औँ मिनेटमा भारतले बराबरी गोल फर्कायो ।

भारतका लागि अनिरुद्ध थापाले बराबरी गोल गर्न सफल भए। भारतीय कप्तान सुनिल क्षेत्रीले डिबक्स बाहिरबाट शक्तिशाली प्रहार गरका थिए। जुन प्रहारलाई नेपालका गोलकिपर तथा कप्तान किरणकुमार लिम्बूले राम्रोसँग नियन्त्रणमा लिन सकेनन् ।

त्यसपछि गोललाइनमा झरेको बललाई थापाले जालीमा चुमाए। थापा दोस्रो हाफमा मैदान छिरेका थिए । दुवै टिमले आगामी महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेका हुन् । नेपाल र भारतबीच अब आइतबार दशरथ रंगशालामै दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुनेछ । आइतबार मैत्रीपूर्ण खेलपछि नेपाली टिम साफको तयारी गर्न कतार जानेछ । कतारमा तयारी गरेपछि नेपाल उतैबाट माल्दिभ्स पुग्नेछ।

प्रकाशित मितिः शुक्रबार, भदौ १८, २०७८     9:52:42 AM  |