शिवु खनाल दाङ, १७ भदौ
दाङमा खोलाले कार बगाउँदा चारजनाको मृत्यु भएको छ ।लमही घोराही सडक खण्ड अन्र्तगत पर्ने सिस्नेखोलाले बुधबार राति नेपालगञ्जबाट घोराही जाँदै गरेको प्र ३–०१–२४ च ४४४० नम्बरको कार सिस्ने खोला क्रस गर्दै गर्दा खोलामा आएको बाढिले बगाउँदा कारमा सवार घोराही उप–महानगरपालिका वडा नम्बर १३ निवासी ३२ वर्षीया शुसिला श्रेष्ठ, सोही ठाउँ निवासी ४० वर्षीया रितामाया पुन, वडा नम्बर १४ निवासी
२९ वर्षीया राधिका कुवर र ४० वर्षीया बिमला केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए । यता जिल्ला प्रहरी कार्यालय दाङका अनुसार कार चालक घोराही उप–महानगरपालिका वडा नम्बर १५ निवासी ४३ वर्षीय नरबहादुर पुनलाई घटनास्थलदेखि एक किलोमिटर टाढा खोलामा बगिहेको अबस्थामा प्रहरीले फेला पारी उद्दार गरेको थियो । पुनको खुट्टा भाँचिएको
छ ।
बुधबार राति नेपालगञ्जबाट आउँदै गरेको एउटा कार घोराही–लमही सडक खण्डमा पर्ने सिस्ने खोलामा पस्यो । पुल नभएपछि चालकले उर्लिएको खोलामै गाडी हालेका थिए । उर्लिएको खोलाले गाडी बगायो, त्यसमा सवार चार जनाले ज्यान गुमाए । गम्भीर घाइते भएका चालकको उपचार जारी छ ।
३–०१–०२४ च ४४४० नम्बरको कार त्यही खोलामा बगेको थियो जहाँ पुल बनाइरहेका ठेकेदारलाई काम ढिला गरेको भन्दै दाङका प्रमुख जिल्ला अधिकारीले पक्राउ पुर्जी नै जारी गरेका थिए । दाङका प्रजिअ कुरुम्बाङले निर्माण कम्पनीका प्रतिनिधि यज्ञ केसीलाई तत्काल पक्राउ गर्न भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेलाई पत्र पठाएका थिए । केसीविरूद्ध पक्राउ पुर्जी जारी गर्नुअघि प्रजिअ कुरुम्बाङले निर्माणस्थलमा गएर ठेकेदारलाई सचेत गराएका थिए ।
गत असार २८ गते नै केसीले उक्त पुल एक महिनाभित्र बनाइसक्ने प्रतिवद्धता सिडिओसँग गरेका थिए । ‘केसीलाई सम्झौता अनुसार पुल निर्माणको काम छिटो गर्न मैले पुल बनिरहेको ठाउँमै पुगेर सचेत तुल्याएको थिएँ, प्रजिअ कुरुम्बाङले भने, ‘उहाँलाई मैले सम्झौता अनुसार पुल निर्माणको काम छिटो पूरा गर्न भनेको थिएँ, तर उहाँले अवज्ञा गरेको देखियो ।’ स्थानीय प्रशासनले एक महिना पहिला नै ताकेता गरे पनि पुल निर्माण कम्पनीले लापरबाही गर्नु र काममा बेवास्ता गर्नुले दुःखद घटना भएको कुरुम्बाङले बताए ।
प्रजिअ कार्यालयले पक्राउ पुर्जी जारी गरे पनि केसी अहिलेसम्म पक्राउ परेका छैनन् । उनी फरार छन् । डिभिजन सडक कार्यालय घोराहीका इन्जिनियर अनिल सुवेदीका अनुसार झन्डै ९ करोड लागतमा निर्माणाधीन पुलको ठेक्का २०७४ फागुनमा भएको थियो । ७० मिटर लम्बाइको दुई स्पानको प्रिस्टेज उक्त पुल कोरोनाको कारण देखाउँदै म्याद थप भएर गत असारमै सक्नुपर्ने सम्झौतामा उल्लेख रहेको इन्जिनियर सुवेदीले बताउनुभयो । उहाँका अनुसार पुलको मुख्य संरचना निर्माण भइसकेको छ भने केही काम गर्न अझै बाँकी छ ।









प्रतिक्रिया दिनुहोस्