बाँके जिल्ला शान्ति सुरक्षाका दृष्टिले संवेदनशिल क्षेत्रका रुपमा रहेको छ । भारतसँग सीमा जोडिएको बाँकेमा सीमा क्षेत्र तथा अन्य क्षेत्रमा विभिन्न अपराधिक क्रियाकलाप हुने गरेका छन् । यस्तै जिल्लाका ठूला दुई सहर समेत अति नै जोखिम क्षेत्रका रुपमा रहेका छन् । जिल्लाको सदरमुकामका रुपमा रहेको नेपालगञ्जमा जडान गरिएका सिसीटिभी काम नलाग्ने अवस्थामा रहेको तथ्य बाहिएको थियो । त्यहाँ केही वर्षपहिले चन्दा मागेर सञ्चालन गरिएका क्यामरा अहिले काम नलाग्ने अवस्थामा पुगेका छन् । त्यहाँ केहीदिन अघि एक बालिकालाई मोटरसाइकलले ठक्कर दिएर मृत्यु भएपनि यसको विषय उठेको थियो । यद्यपी अहिलेसम्म सरोकारवाला निकायले उचित ध्यान दिन सकेको देखिदैन । क्यामरा जडानको लागि सरोकारवाला निकायले ध्यान दिनुपर्ने देखिन्छ ।
अहिले कोहलपुर क्षेत्रमा समेत सिसीटिभी जडान गर्ने प्रक्रिया थालिएको छ । कोहलपुर क्षेत्रमा एकै महिनामा हत्यादेखि निरन्तर चोरीका घटना बढेसँगै यहाँका सरोकारवाला सिसीटिभी जडान गर्नको लागि सक्रिय भएका हुन् । कोहलपुर क्षेत्रलाई शान्तिपूर्ण बनाउनको लागि यहाँका सरोकारवाला सम्मिलित एक समिति समेत गठन गरिएको छ । उक्त समितिले अहिले अगुगमन देखि स्थान पहिचान र जडानका प्रक्रिया माथि काम गरिरहेको छ । समितिले कोहलपुरका १७ स्थानलाई जोखिमयुक्त भनेर पहिचान गरेको छ । सिसीटिभी जडान तथा पहिचान समितिले पहिचान गरेका स्थानहरुमा कोहलपुर नगरपालिकाको मनकामनाचोक,चप्परगौडी क्षेत्रको रोहिणी खोलापारी पट्टिको बजार, खड्गवार चोक,मदनचोक र एनसिसियन न्यूरोड,साझाचौक,कृषिबजारदेखि दक्षिणपट्टि बसपार्क, हाईस्कुल, पिपिरिचौक,हवलदारपुर, शिव मन्दिर र पिप्रहवा रहेका छन् ।
कोहलपुर क्षेत्र अपराधका दृष्टिले जोखिमयुक्त क्षेत्र रहेको निष्कर्ष सहित सिसीटिभी जडान गरिने भएको हो । यसैपनि कोहलपुर नगरपालिका क्षेत्र अपराधका दृष्टिले ट्रान्जिटका रुपमा रहेको छ । तीन प्रदेशको प्रवेश विन्दु समेत रहेको कोहलपुर विभिन्न किसिमका अपराधकर्म गर्ने थलो बनिरहेको छ । यहाँका विभिन्न क्षेत्र लागू औषध कारोबार हुने क्षेत्रका रुपमा रहेका छन् । मुख्य क्षेत्रमै व्यवसायका नाममा यौन धन्दा चल्ने गरेका छन् । चोरी बढिरहेको छ । त्यसै यस क्षेत्रलाई अपराध मुक्त बनाउनको लागि सम्पूर्ण सरोकारवाला निकायको समन्वय र सहकार्य आवश्यक देखिन्छ । त्यसैले प्रविधिको विकाससँगै सिसीटिभी क्यामरा समेत एक शसक्त माध्यमका रुपमा रहेको अपराध नियन्त्रणका लागि । त्यसैले अपराध नियन्त्रणका लागि सिसीटिभी क्यामरा जडान आवश्यक छ ।









प्रतिक्रिया दिनुहोस्